Logo
१५ वैशाख २०८१, शनिबार

तिहार सकिएसँगै सुदूरपहाडमा जात्राको रौनक

अक्षरपाटी
२०७९ कात्तिक १४ , सोमबार ०५:१० मा प्रकाशित

बैतडी। तिहार सकिएसँगै बैतडीसहित सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लामा जात्रा सुरु भएको छ।

तिहारपछिको १५ दिनसम्म यहाँका शक्तिपीठमा जात्रा लाग्ने गर्दछ। कात्तिक शुक्ल पक्षमा बैतडी, दार्चुला, डडेल्धुरालगायतका सुदूरपहाडका शक्तिपीठ तथा मन्दिरमा जात्रा लाग्दै आएको छ।

सुदूरपहाडका विभिन्न जिल्लाका शक्तिपीठ तथा मन्दिरमा कात्तिक शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न जात्रा लाग्ने गरेको पण्डित जयानन्द भट्टले बताए। शरद ऋतु देवीदेवताको पूजाउपासना गर्ने उत्तम समयका रुपमा मानिने भएकोले कात्तिक शुक्ल पक्षमा देवीदेवताको पूजन गर्ने चलन रहिआएको छ।

दसैँमा जात्रा लाग्ने मन्दिरमासमेत कात्तिक शुक्लपक्षमा समेत विभिन्न देवीदेवताका मन्दिर र शक्तिपीठमा सामूहिक पूजाआजा गर्ने चलन रहेको भट्टको भनाइ छ।

बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा कात्तिक शुक्ल अष्टमी र नवमीका दिन जात्रा लाग्ने गर्दछ। राँगाको बलीसहित पूजाआजा हुने त्रिपुरासुन्दरी मेलामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीसमेत आउने गरेका स्थानीय जयसिंह धामीले बताए।

प्रसिद्ध रौलाकेदार धाममा पनि कात्तिक शुक्ल अष्टमी, शिवनाथ गाउँपालिकास्थित शिवनाथ धाममा पनि कात्तिक शुक्ल सप्तमी र अष्टमी, पाटन नगरपालिका २ स्थित प्रसिद्ध महारुद्र मन्दिरमा कात्तिक शुक्ल अष्टमी र सुर्नया गाउँपालिका(४ स्थित सनेशरीमाडौँंमा कात्तिक शुक्ल षष्ठीका दिन जात्रा लाग्ने गरेको छ।

यसका साथै प्रसिद्ध मेलौली भगवती मन्दिर र सुर्नयास्थित फाल्ङासैनी भगवती मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन र महारुद्र मन्दिर, त्रिवेणीधाम (राताशीला) मा पनि जात्रा लाग्दछ।

दार्चुलामा रहेको राष्ट्रकै सातौँं धामका रुपमा रहेको मालिकार्जुनधाम, लटिनाथ लगायतका मन्दिरमा जात्रा लाग्ने गर्दछ। मालिकार्जुन धाममा कार्तिक शुक्ल चर्तुदर्शीका दिन जात्रा लाग्ने गर्दछ।

दार्चुलाको लटिनाथ बन्तोली मन्दिरमा कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाकै राति जात्रा सम्पन्न भइसकेको छ। डडेल्धुराको उग्रतारा र भागेश्वरलगायतका मन्दिरमा कात्तिक शुक्ल पक्षमै मेला लाग्ने गर्दछ। उग्रतारा लगायतका मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्दै आएको छ।

डोटीमा सुदूरपश्चिम प्रदेशकै प्रख्यात शक्तिपीठ ठूला केदार, मसानी, शैलेश्वरी, दीपायल जात, मष्टो, ब्वाराकी जात, ऐतिहासिक अछामको गाज्रास्थित डौठेगडा जात्रा लाग्दछ।

विभिन्न शक्तिपीठ तथा मन्दिरमा लाग्ने जात्रामा सहभागी हुन बसाइँसराइ गरेर गएका पनि पुर्ख्यौली थलोमा फर्कने गरेको स्थानीय हेमराज गिरीले बताए। जात्राका बेला पारिवारिक भेटघाट हुने र धार्मिक हिसाबले पनि जात्रा महत्वपूर्ण हुने गरेका छन्।

सुदूरमा जात्रा