Logo
७ वैशाख २०८१, शुक्रबार

नेपालको हवाई क्षेत्रमा ठूलो उपलब्धि भएको ईयूको प्राविधिक टोलीको प्रतिक्रिया

अक्षरपाटी
२०७९ असोज २६ , बुधबार ११:१० मा प्रकाशित

काठमाण्डौ । नेपालको हवाई सुरक्षामा उल्लेखनीय सुधार आएको युरोपेली संघ (ईयू) को प्राविधिक टोलीले प्रतिक्रिया दिएको छ ।

नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न आएको ईयूअन्तर्गतको युरोपियन एभिएसन सेफ्टी एजेन्सीको टोली नेपालको समग्र हवाई सुरक्षाबारे सकारात्मक रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताउनुभयो ।

महानिर्देशक अधिकारीका अनुसार ईयूको प्राविधिक टोलीले दिएको प्रारम्भिक प्रतिवेदनमा १० वर्षको अवधिमा ठूलो उपलब्धिका रुपमा उल्लेख छ ।टोलीले कात्तिक ११ गते नेपाललाई अन्तिम प्रतिवेदन बुझाएपछि सार्वजनिक गर्ने पनि उहाँले जानकारी दिनुभयो । आउँदो मे महिनासम्ममा नेपाल ईयूको सुरक्षा सूचीबाट हट्ने महानिर्देशक अधिकारीले विश्वास व्यक्त गर्नुभयो ।

सन् २०१३ यता युरोपेली संघ ईयूले हवाई प्रतिबन्ध सूचीमा नेपाललाई राखेको छ । सन् २०१० मा एकै वर्ष तीन वटा विमान दुर्घटना भएका थिए भने सन् २०११ मा एउटा र सन् २०१२ मा दुई वटा विमान दुर्घटना भएपछि त्यस्तो प्रतिबन्ध लागेको थियो ।

ईयूले प्रतिबन्ध लगाउँदा अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण ९आईकाओ० को प्रतिवेदनलाई आधार मानेको थियो । तर आईकाओले चार वर्षपछि नै सन् २०१७ को जुलाईमा नेपालको प्रतिबन्ध फुकुवा गरिसकेको छ ।