Logo
१६ चैत्र २०८०, शुक्रबार

कैलालीमा रोचक बन्दै चुनावी प्रतिस्पर्धा

अक्षरपाटी
२०७९ असोज २७ , बिहीबार ०३:१० मा प्रकाशित

सुदूरपश्चिम। आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कैलाली जिल्लामा विभिन्न दलले गठबन्धन गरेर नयाँ अनुहारसहितका प्रत्यासी उठाइएपछि प्रतिस्पर्धा भिन्न र रोचक बन्ने देखिएको छ।

नेपाली कांग्रेससहितको बाम—लोकतान्त्रिक गठबन्धनले भागबन्डा गरेर आ–आफ्ना उम्मेदवार उठाउँदा (नेकपा एमाले(ले पनि प्रदेश सभाका केही क्षेत्रमा जनता समाजवादीसँग तालमेल गरेर उम्मेदवार उठाएपछि चुनावी प्रतिस्पर्धा विगतको भन्दा भिन्न र रोचक देखिएको हो।

स्थानीयवासी विष्णु भाटले गठबन्धन गरेर निर्वाचनमा जाँदा प्रतिस्पर्धामा यस्तो स्थिति देखिनु स्वभाविक भएको बताए।

उनी भन्छन्, “गाग्रीभरिको पानी सानो मखमा खन्याउनुपर्ने जस्तो गरी सानो दलका उम्मेदवारलाई ठूलो दलसमर्थित मतदाताले मत दिनुपर्दा चुनाव रोचक बन्दैछ।”

अर्का मतदाता बामदेव जोशी पनि स्थिरता र विकासका लागि स्वच्छ छवि भएका इमान्दार उम्मेदवार छान्ने मौका आएकाले सचेत भएर मतदान गर्नुपर्ने समय आएको बताउछन्।

एउटै निर्वाचन क्षेत्रमा धेरै उम्मेदवार हुँदा मतदाता कसलाई मत दिने भनेर केही अलमलमा परेका छन् भन्दै उनी भन्छन्, “विगतका निर्वाचनमा भन्दा अहिले मतदाता निकै सचेत भइसकेकाले यो चुनावमा सक्षम र इमान्दार उम्मेदवारलाई मतजाने देखिन्छ।” मतदाताहरुका अनुसार कसैले चाहँदैमा निर्वाचन पक्षमा पर्ने अवस्था छैन।

सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित दलले आपसमा मिलेर चुनावमा उम्मेदवार उठाएका छन्।

एमाले र जनता समाजवादी पार्टीले पनि कैलालीको प्रदेशसभाका केही क्षेत्रमा आपसमा तालमेल गरेर उम्मेदवार उठाएका छन्।

प्रतिनिधिसभातर्फ कांग्रेसले क्षेत्र नं १, ४, र ५, माओवादीले क्षेत्र नं २ र ३ मा उम्मेदवार उठाएको छ। एकीकृत समाजवादीले भने जिल्लाका दुई प्रदेशसभामा मात्र उम्मेदवार उठाएको छ।

सांङ्गठनिक रुपमा जिल्लामा अन्य दलको तुलनामा कमजोर रहेको जनमोर्चा नेकपा एमालेले प्रतिनिधिसभाका सबै (पाँच क्षेत्र)मा उम्मेदवार उठाएको छ।

उसले प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमा जनता समाजवादीसँग तालमेल गरेको छ। गएको स्थानीय तहको निर्वाचनमा चार वटा पालिका प्रमुख जितेर पहिलो शक्ति बनेको नागरिक उन्मुक्ति पार्टीले सबै क्षेत्रमा उम्मेदवार उठाएको छ। जुन स्थानीय तहको निर्वाचनमा कैलालीमा बलियो पार्टीका रुपमा देखिएको छ।

जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेमकिपा, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले, लोकतान्त्रिक समाजवादी पार्टी, सङ्घीय तोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि कतिपय क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको छ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै कैलाली जिल्लाका प्रत्यासीले प्रचारप्रसार गरेर मतदातालाई रिझाउन सुरु गरिसकेका छन्।

प्रचारप्रसारका साथै उम्मेदवारहरु बैठक, भेला, प्रशिक्षण, छलफल, अन्तक्र्रियामा केन्द्रित भइरहेका छन्। त्यस्ता कार्यक्रममा उम्मेदवारलाई कसरी विजयी बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुने गरेको नेता कार्यकर्ताले बताएका छन्।

विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले टिकट वितरणमा असन्तुष्ट हुँदै पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका छन् भने कतिपयले आफ्नो उम्मेदवारी फिर्ता पनि लिएका छन्। कैलालीको प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र ५ (धनगढी क्षेत्र) बाट गठबन्धन दलहरुकै उम्मेदवारीप्रति असन्तुष्टि जनाउँदै धेरैले स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाले यो क्षेत्रको निर्वाचनलाई आम मतदाताबाट चासो र उत्सुकतापूर्वक हेर्न थालिएको छ।

प्रदेशको राजधानी, सहर र प्रदेशको एकमात्र उपमहानगरपालिका रहेकोले पनि यो क्षेत्रको चुनावलाई बढी चासोपूर्वक हेर्न थालिएको हो।

पाँच वर्षअघि यो निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेकी कांग्रेस नेत्री डा आरजु राणा देउवालाई अन्तर्घात गरेर पराजित बनाएको भन्दै कांग्रेसको कारबाही परेका पूर्वराज्यमन्त्री पुस्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी दिएपछि चासो थप बढेको हो।

काँग्रेस नेतृ डा आरजु राणाका सहयोगी तथा भतिजा एवं कांग्रेसका युवा नेता प्रकाशबहादुर देउवाले यसै क्षेत्रको प्रदेशसभातर्फ पार्टीको टिकट पाएपछि सोही पदमा कांग्रेसका युवा नेता क्षितिज भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। सत्यराज उपाध्याय, रामबहादुर सिंह, जगदीश चौधरीले पनि प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन्।

यो क्षेत्रको प्रदेशसभामा एमालेका नेता एवं पूर्वमन्त्री नारदमुनी राना, सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिल्लीराज पन्त, राष्ट्रिय स्वतन्त्र पार्टीका ईश्वरी विष्ट, लोकतान्त्रिक समाजवादी पार्टीका दानबहादुर विश्वकर्मा, नेमकिपाका नन्दाकुमारी दर्लामीमगरको उम्मेदवारी परेको छ । नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण चौधरीले दिएको उम्मेदवारी भने खारेज भएको छ।

यो क्षेत्रको प्रदेशसभामा टिकट पाएका एमालेका यज्ञराज बास्तोलाको टिकट खोसिएपछि सो पार्टीमा पनि असन्तुष्टि बढेको छ। बास्तोलाले पार्टीसमेत परित्याग गरेका छन्।

कैलाली क्षेत्र नम्बर ४ मा काँग्रेसले सुदूरपश्चिम प्रदेश कांग्रेस समितिका सभापति वीरबहादुर बलायरलाई डोटीबाट कैलाली सारेपछि उनकाे प्रतिस्पर्धा एमालेका लेखराज भट्टसँग हुने भएकाे छ। डोटी काँग्रेको बलियो क्षेत्र हुँदा हुँदै बलायर गठबन्धनका कारण कैलाली झरेका हुन्।

झण्डै दश हजार नयाँ मतदाता
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनपछि कैलाली जिल्लामा दश हजार तीन सय ८९ नयाँ मतदाता थपिएका छन्।

नयाँ थपिएकासमेत जिल्लामा जम्मा मतदाता सङ्ख्या पाँच लाख ३५ हजार पाँच सय १४ पुगेका छन्। यीमध्ये दुई लाख ६१ हजार पुरुष र दुई लाख ७३ हजार आठ सय ८३ महिला मतदाता छन्। अन्य मतदाता ११ जना छन्।

निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभाको निर्वाचन क्षेत्र १ मा एक लाख ६ हजार सात सय तीन , क्षेत्र नं २ मा एक लाख चार हजार नौ सय छ, क्षेत्र नं ३ मा एक लाख सात हजार छ सय ५९, क्षेत्र न ४ मा एक लाख दश हजार चार सय ५३ र क्षेत्र नं ५ मा एक लाख पाँच हजार सात सय ९३ मतदाता छन्।

आम निर्वाचन कैलाली