Logo
६ वैशाख २०८१, बिहीबार

चुनावसँगै बढ्यो होटल, रेष्टुराँमा चहलपहल

अक्षरपाटी
२०७९ असोज ३० , आईतबार ०९:१० मा प्रकाशित

महोत्तरी। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को चहलपहलले महोत्तरीको होटल व्यवसाय फस्टाएको छ।

जिल्लाका चार प्रतिनिधिसभा क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका बजारका होटल केही दिनयता ग्राहकले खचाखच भरिएका छन्। चुनावी चहलपहलको भीडले होटल व्यवसाय प्रवद्र्धन गएको व्यवसायीको भनाइ छ।

जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ को बर्दिबासमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारका निर्वाचन परिचालन कार्यालय सञ्चालनमा आएसँगै होटलमा ग्राहकको सङ्ख्या ह्वात्तै बढेको छ।

बर्दिबासचोकमै सत्ता गठबन्धन, नेकपा (एमाले)– जनता समाजवादी (जसपा) गठबन्धन र स्वतन्त्र उम्मेदवारका कार्यालय सञ्चालनमा आएलगत्तै बजारु चहलपहल ह्वात्तै बढेको नेपाल होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष रेवन्त कार्की ‘सुदीप’को भनाइ छ।

“निर्वाचन आयोगले बर्दिबासमै निर्वाचन अधिकृतको कार्यालय स्थापना ग¥यो, सडक यातायातको सहजताले दल र उम्मेदवारले पनि यही नै कार्यालय सञ्चालनमा ल्याए”, उनले भने, “यसले चुनावी तयारीको चहलपहल बढेसँगै होटल खचाखच भरिएका छन्।”

निर्वाचन अधिकृतको कार्यालयसम्बद्ध काममा र दल एवं अन्य उम्मेदवारका कार्यालयमा आउजाउ गर्ने बढेसँगै होटलमा ग्राहक बढेका सुदीपको भनाइ छ। साना–ठूला गरी एक सयको हाराहारीमा होटल रहेका बर्दिबासमा सबै होटल अहिले भरिभराउ देखिँदैछन्।

उम्मेदवारले निर्वाचन चिह्न पाएसँगै प्रचार अभियान औपचारिकरूपमा सुरु भएको छ। यस क्रममा जिल्लाका प्रत्येक प्रतिनिधिसभा क्षेत्रका मुख्य बजारमा दल र स्वतन्त्र उम्मेदवारका कार्यालय सञ्चालनमा आएका छन् ।

बर्दिबासका अतिरिक्त जिल्लाका बलवा, जलेश्वर र रामगोपालपुरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा छन्।

“अहिले त दिवाली (तिहार) र छठपर्वको तयारीमा आम सर्वसाधारण रहेका हुँदा चुनावी अभियान जनजन र घरघर पुग्न बाँकी छ”, प्रतिनिधिसभा क्षेत्र नं १ कै सीतापुर बजारका कपडा व्यापारी सहवुल अन्सारी भन्छन्, “पर्व सकिनासाथ परिवेश निर्वाचनमय बन्नेछ।”

बितेका दुई वर्ष कोरोना सङ्क्रमणले थलिएको व्यापार अब निर्वाचन चहलपहलले केही बौरने आस पालिएको उनको भनाइ छ।

महोत्तरी होटल व्यवसाय