Logo
१४ वैशाख २०८१, शुक्रबार

कैलालीमा कांग्रेसका बागी उम्मेदवार पार्टीबाट पाँच वर्षका लागि निस्कासित

अक्षरपाटी
२०७९ असोज ३० , आईतबार १०:१० मा प्रकाशित

कैलाली। कैलालीमा बागी उम्मेदवारी दिने १० जनालाई काँग्रेसले कारबाही गरेको छ ।

पार्टी र गठबन्धनका तर्फबाट परेको उम्मेदवारीलाई अस्वीकार गर्दै उम्मेदवारी दिने नेता तथा कार्यकर्तालाई कांग्रेसले पार्टीबाट निकालेको विज्ञप्तिमार्फत जनाएको छ।

नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टद्वारा जारी विज्ञप्तिमा सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उभिएकाहरुलाई कारबाही गरिएको जनाइएको छ।

विज्ञप्तिअनुसार बागी उम्मेदवारी दिएका ६ जना र ती उम्मेदवारका प्रस्तावक तथा समर्थक गरेर १० जनालाई कारबाही गरिएको छ। उनीहरुलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गरिएको पार्टी सभापति भट्टले बताए।

कारबाहीमा पर्नेमा कैलाली क्षेत्र नम्बर ५ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार तथा प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस नेतृ आरजु राणाका भतिजा प्रकाश देउवाविरुद्ध उम्मेदवारी दिएका क्षितिज भण्डारी, कैलाली क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका नविन कुमार बोहरा, २ (ख) मा भरतकुमार शाही, ३ (ख) का गोविन्दराज जोशी, ३ (ख) कै लक्ष्मण शाही र ४ (२)की भगवती पाठक छन्।

त्यसैगरी भरतकुमार शाहीका समर्थक कमल कुमार विक, गोविन्दराज जोशीका प्रस्तावक कमलबहादुर बडुवाल र समर्थक देवीराम खत्री पनि पाँच वर्षका लागि पार्टीबाट निस्कासित भएका छन्।

क्षेत्र नम्बर ५ को प्रतिनिधि सभामा नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराज पन्तका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका पुष्करनाथ ओझाका समर्थक बसेका नवराज जोशीलाई पनि काँग्रेसले कारबाही गरेको छ।

कारबाही नेपाली कांग्रेस बागी