Logo
१४ वैशाख २०८१, शुक्रबार

‘वेलकम होम’ परियोजना सञ्चालन

अक्षरपाटी
२०७९ असोज ३१ , सोमबार ०७:१० मा प्रकाशित

बनियानी। वैदेशिक रोजगारीमा गएर फर्किएका युवालाई स्वदेशमै टिकाउन ‘वेलकम होम’ परियोजना सञ्चालनमा आएको छ।

प्रदेश नं १ को झापा, मोरङ र सुनसरीमा यो परियोजना सञ्चालनमा आएको हो। कथा नेपालले भद्रपुरमा ‘मिडिया अन्तक्रिया’ कार्यक्रमको आयोजना गरी परियोजनाबारे जानकारी दिएको छ ।

कथा नेपालका नेशनल को–अर्डिनेटर ताराप्रसाद बडहरियाले विदेशबाट दुःख पाएर फर्किका, ज्ञान–सीप लिएर आएकालाई आर्थिक एकीकरण सहयोग गर्ने उद्देश्यले परियोजना सञ्चालनमा आएको बताए।

परियोजनाअन्तर्गत विदेशबाट फर्किएकाका लागि रोजगारी सिर्जना, क्षमता अभिवृद्धि, विदेशमा प्राप्त गरेको ज्ञान–सीपलाई स्वदेशमै प्रयोग गर्ने अवस्था बनाउनेलगायतका क्रियाकलाप गरिने जनाइएको छ।

उनले भने, “श्रम बजारमा भोगेका समस्यालाई पहिल्याउने र समाधान गर्ने कार्ययोजना छ, विदेशबाट फर्किएर पुनः विदेश नै जानुपर्ने अवस्था रहेको छ। आवश्यक तालिम दिएर रोजगारीमा फर्काउने र समाजमा स्थापित गर्ने काम गर्छौँ।”

कार्यक्रममा पौरखी नेपालकी मञ्जु गुरुङले विदेशबाट फर्किंदा घरपरिवार र सम्पत्ति दुवै नरहने कतिपय टिठलाग्दो अवस्था रहेको बताए।

“अझ विदेश गएरका र फर्किएका महिला बढी समस्यामा छन्”, उनले भने, “उनीहरुलाई सम्मानका साथ समाजमा स्थापित गर्ने काम गरिरहेका छौँ।”

रोजगारीको खोजीमा नेपाली जनशक्ति विदेशिरहेको अवस्था एकतातिर छ भने स्वदेशमा श्रमशक्ति अभाव हुँदा छिमेकी मुलुकबाट धेरैले काम गरिरहेको अवस्था छ। उनीहरुलाई आवश्यक तालिम, परामर्श दिने र स्वदेशमै टिकाउने सोचका साथ परियोजना अघि बढाइएको जनाइएको छ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले भद्रपुर नगर क्षेत्रबाट करिब पाँच हजार वैदेशिक रोजगारीमा गएको बताए।

“त्यति नै मान्छे विदेशबाट फर्किएका छन्”, नगर प्रमुख पोखरेलले भने, “वैदेशिक रोजगारीका क्षेत्रमा धेरै समस्या छन्, पालिकास्तरबाटै हामी काम गर्ने सोचमा छौँ।”

नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका र जानेका लागि वित्तीय साक्षरता, परामर्श, उद्यमशीलतालगायतको काम गर्दै आएको र केही उपलब्धिसमेत हासिल भएको नगर प्रमुख पोखरेलले बताए।

यस्तै, जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले वैदेशिक रोजगारलाई एउटा अवसरका रुपमा हेरिनुपर्नेमा अनिवार्यजस्तै बनेको बताए।

“निर्वाहमुखी कृषि र वैदेशिक रोजगारीले अर्थतन्त्र धानेको छ”, उनले भने, “यसले गरिबी निवारणमा केही हदसम्म काम गरे पनि दीर्घकालीन फाइदा गर्दैन।”

दैनिक दुई हजार तीन सयनेपाली विदेशिइरहेको र तीनदेखि पाँचको शव नेपाल भित्रिरहेको टिठलाग्दो अवस्था रहेको उहाँले उल्लेख गरे। यस्तो अवस्था अन्त्यका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए।

कार्यक्रममा भद्रपुर नगरपालिकार्की उपप्रमुख राधा कार्कीले विदेश नगई हुने अवस्था रहेकाले सोको अन्त्य गर्नुपर्नेमा जोड दिए।

“सबैको सहयोग र प्रयासबाट मात्र सम्भव छ”, उनले भने, “हामी आफैँले केही गर्नुपर्ने बेला आएको छ। वेलकम होम परियोजना जिल्लाभर सञ्चालनमा आइसकेको कथा नेपालले जनाएको छ।

वेलकम होम