Logo
२३ असोज २०८१, बुधबार

बेलढुंगामा पर्यटकको चहलपहल

अक्षरपाटी
२०७९ कात्तिक १६ , बुधबार ०८:११ मा प्रकाशित

बागलुङ। बागलुङको पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ। प्रचार–प्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गा आउने पर्यटकको सङ्ख्यमा वृद्धि भएको हो।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सीमामा बेलढुंगा छ।

माथिल्लो भाग पहिराले भत्किएपछि उजाड बनेको बलेढुंगामा गण्डकी प्रदेश सरकार र स्थानीयको साझेदारीमा पूर्वाधार निर्माण गरिएको थियो। बेलढुंगा आउने पर्यटकलाई धम्जाको ओखलेमा स्थापना गरिएको सामुदायिक घरबासका कारण सहज भएको छ।

यहाँ आउँदा निकै आनन्दित र ऊर्जा थपिएको जैमिनी नगरपालिकाका रमेश केसीले बताए। “समाचार र सामाजिक सञ्जालबाट थाहा त पाएको थिएँ, तर यहाँ आएपछि सुनेभन्दा राम्रो लाग्यो, पदमार्ग र हिमालको दृश्यले मनै लोभ्यायो”, उनले भने।

ढुंगा छापेर बनाइएको रेलिङसहितको पदमार्ग, प्रवेशद्वारा, सूचना बोर्ड र प्राकृतिक भ्यूटावरका रूपमा रहेको बेलढुङ्गालाई भत्केपछि बनाइएको नयाँ संरचनाले थप आकषर्ति बनाएको छ।

यहाँबाट हिमशङ्खला, म्याग्दी सदरमुकाम बेनीसहित उच्च पहाडी भेगको अवलोकन गर्न सकिन्छ। प्राकृतिक पहाडको टुप्पोलाई नामकरण, प्रचार–प्रसार तथा पूर्वाधार निर्माणका कारण पर्यटक यहाँ आउन थालेको स्थानीय गोपाल श्रीसको भनाइ छ।

दुवै जिल्लाका स्थानीयवासीको पहल र प्रयत्नपछि अहिले फेरि बेलढुंथगा नयाँ स्वरुप ल्याएको मात्रै छैन, यसलाई राष्ट्रियरूपमा नै चिनाइसकेको छ।

करिब दुई घण्टाको सडक यात्रापछि बागलुङ बजारबाट पुग्न सकिने सो गन्तव्यमा म्याग्दीतर्फबाट समेत सजिलै पुगिन्छ । समुद्री सतहदेखि दुई हजार ६ सय १२ मिटरको उचाइमा रहेको बेलढुंथ‍गाबाट देखिने सुन्दर हिमशृङ्खलादेखि दुई विभिन्न जिल्लाका गाउँघर र प्राकृतिक मनोरम दृश्य देख्दा मनै लोभ्याउने गरेको छ।

बेलढुंगा