Logo
११ वैशाख २०८१, मंगलबार

तिहारमा एकै जना किसानले बेचे सात लाखको सयपत्री फूल

अक्षरपाटी
२०७९ कात्तिक १६ , बुधबार ०९:११ मा प्रकाशित

भरतपुर। तिहार पर्वमा चितवनका एउटै किसानले सात लाखको सयपत्री फूल बेचेका छन्।

भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा सात लाखको फूल बेचेका हुन।

गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उनले यस वर्ष चार बिघामा फूल रोपेका थिए।

सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उनको भनाइ छ। पाख्रिनले भने, “गत वर्ष डेढ बिघामा लगाएको सयपत्री फूलले यहाँको माग पु¥याउन सकिएन भनेर अहिले चार बिघामा लगाएको फूलले राम्रै बजार पायो, आम्दानी पनि मनग्य भयो।”

यस वर्ष भारतबाट फूल आयात कम भएका कारण पनि व्यापार राम्रो भएको उनले बताए। तिहारको अवधिभर १२ हजार बढी फूलको माला बिक्री भएको उनले बताए। फूल बिक्रीबाट सात लाखभन्दा बढी आम्दानी भएको पाख्रिनले जानकारी दिए।

‘मैले उत्पादन गरको फूल सबै जिल्लाभित्रै खपत भयो’, उनले भने, ‘केही फूल पश्चिम नेपालका जिल्लामा पनि पठाएँ।’

उनले अझै चार÷पाँच लाखको फूल बारीमा नै रहेको बताए। “मङसिरमा बिहेको लगन आउँदैछ, त्यो बेला पनि सयपत्री फूल बिक्री हुन्छ, अन्य समयमा पनि फाट्टफुट्ट बिक्री भइरहन्छ”, उनले भने।

उनले १२ लाखको फूल बेच्दा एक सिजनमा सबै खर्च कटाएर आफूलाई छ–सात लाख बचत हुने सुनाए। डेढ बिघा जग्गामा फूल बिक्री गरिसकेपछि उनले तोरी लगाइसकेका छन्।

‘यसपटक राम्रो व्यापार भयो, २०८० सालको दसैँमा १० बिघा क्षेत्रफलमा सयपत्री फुलाउँछु’, उनले भने, “वरिपरि ढकमक्क फूल फुलेको देख्दा पनि निकै रमाइलो लाग्छ।”

उनले २६ वर्षअघिसम्म काठमाडौंमा पढाउने काम गरेका थिए।। “काठमाडौँमा बसेर १० वर्ष पढाउने काम गरेँ”, उनले भने, “त्यो काम छाडेर भरतपुर फर्किएँ र फूलको मोहले नर्सरी सञ्चालन गर्न थालेँ, अन्ततः व्यवसाय नै फूलखेती बन्यो।”

यसपालिको तिहारमा उनले एउटा माला एक सयमा बिक्री गरे भने प्रतिकेजी चार सयमा बिक्री गरेको सुनाए।

पाख्रिनले १८ वर्षदेखि व्यावसायिकरूपमा फूलखेती गर्दै आएका हुन्। चितवनमा यो पेसा गरेको पाँच वर्ष भयो। धादिङ फूलखर्क–४ का उनले नौबिसेबाट पुष्प खेतीको सुरुआत गरेका थियो ।

अहिले पनि सयपत्री सिजनमा अथवा चाडपर्वको समयमा मात्र उत्पादन गरे पनि राम्रो आम्दानी हुने उनको भनाइ छ। ‘तीन रुपैयाँमा सयपत्रीको बिरुवा पाइन्छ’, उनले भने, ‘बीउ आफैँ खरिद गरेर उमार्न सके अझै कम शुल्क पर्छ।’

हिजोआज सयपत्री फूल व्यवसायिकरूपमा सुरु गर्न करिब ५० हजार भए पुग्ने उनी बताउछन्। ‘पहिला सयपत्री फूलले खासै बजार पाउँदैनथ्यो, अहिले बजारमा धेरै माग बढिरहेको छ’, उनले भने, ‘अहिले जति उत्पादन गरे पनि बजार नपाइएला भन्ने चिन्ता छैन।’

यो व्यवसाय गर्नका लागि उनलाई श्रीमती सरस्वती खत्री पाख्रिनको उत्तिकै साथ छ। उनीहरुका दुई छोरी र दुई छोरा छन्। पुष्प खेतीबाट पर्याप्त आम्दानी हँुदैन, बजार छैन भन्नेका लागि पाख्रिन एक उदाहरण बनेका छन्।

पुष्पखेती