Logo
१६ चैत्र २०८०, शुक्रबार

निर्वाचन शान्तिपूर्ण हुन्छ : गृहमन्त्री खाण

अक्षरपाटी
२०७९ कात्तिक १६ , बुधबार ०४:११ मा प्रकाशित

गृहमन्त्री बालकृष्ण खाणले आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने बताएका छन्।

कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने उनले बताए ।
आज बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबैको सहयोग रहेकाले आगामी निर्वाचन पनि शान्तिपूर्ण हुने विश्वास व्यक्त गरे।

उनले नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको बताउ। नागरिकको सुरक्षा र सम्पत्तिको रक्षाका लागि सरकार सधैँ प्रतिबद्ध रहेको उनले बताए।

नागरिकको जीवन र सम्पत्तिको रक्षा गर्ने कार्यमा सुरक्षा निकायले २४ सै घण्टा खटेर महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागलाई धन्यवाद दिए।

‘सीमित स्रोतसाधानका बाबजुद विषम परिस्थितिमा पनि सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय छ’, उनले भने। सुरक्षा बैठकमा प्रदेशको सुरक्षा अवस्था र आगामी निर्वाचनबारे छलफल हुने जनाइएको छ।

बैठकमा प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखको प्रस्तुति रहने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए।