Logo
१४ वैशाख २०८१, शुक्रबार

एमाले अध्यक्ष ओली आज धनगढी आउँदै, भोलि दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्ने

अक्षरपाटी
२०७९ कात्तिक १७ , बिहीबार ०२:११ मा प्रकाशित

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज धनगढी आउने भएका छन्। चुनावी देश दौडाहको सुरुवात गर्न ओली सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढी आउने भएका हुन्।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्न अध्यक्ष ओली सुदूरपश्चिम आउन लागेको एमाले सुदूरपश्चिमका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए। उनका अनुसार ओली आज साँझ धनगढी पुग्ने छन्। ओलीले आज र भोलि धनगढीमा यहाँका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने र भोलि दार्चुला जाने कार्यक्रम रहेको भण्डारीले बताए। एमालेले भोलि दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्ने तयारी गरेको छ।

एमाले सरकारका पालामा आफू प्रधानमन्त्री हुँदा चुच्चे नक्सामा समेटिएको ठाउँ (दार्चुला) बाट चुनावी अभियान सुरु गरिने एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले बताए।

यस्तै भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपाली क्षेत्र हो भन्ने कुरा पुष्टि भइसकेको उनको दाबी छ। दार्चुला सदरमुकाम खलंगामा भोलि बिहान ११ बजे आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने छन्। यस्तै भोलि नै दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा पनि ओलीले चुनावी अभियान उद्घाटन गर्ने छन्।