Logo
८ कात्तिक २०८३, आईतबार

महँगीले मर्माहत बनाएको भन्दै फ्रान्समा हिंसात्मक जनआक्रोश : पेरिससहित युरोपेली मुलुकतिर फैलँदै

अक्षरपाटी
२०८३ कात्तिक ८ , आईतबार ०१:१० मा प्रकाशित

प्रहरीको अश्रुग्यास र पानीको फोहोरा प्रयोग, करिब एक हजार प्रदर्शनकारी पक्राउ, सरकार भन्छ: चार लाख १० हजार र मजदुर संगठनको दाबी: आठ लाख प्रदर्शनकारी

काठमाडौं । बढ्दो महँगी, आर्थिक असमानता र सरकारका नीतिप्रति असन्तुष्टि जनाउँदै फ्रान्समा फैलिएको जनप्रदर्शन हिंसात्मक बनेको छ। शनिबार राजधानी पेरिससहित विभिन्न प्रमुख सहरमा लाखौँ नागरिक सडकमा उत्रिएपछि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको हो।

जीवनयापनको बढ्दो खर्च, नागरिकको क्रयशक्तिमा आएको गिरावट र आर्थिक नीतिको विरोधमा फ्रान्समा केही दिनदेखि प्रदर्शन जारी छ। शनिबारको प्रदर्शन दिनभर अधिकांश स्थानमा शान्तिपूर्ण रहे पनि साँझपख तनावग्रस्त बनेको थियो। केही स्थानमा तोडफोड र आगजनी भएपछि प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास, पानीको फोहोरा र लाठी चार्ज गरेको बताइएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार प्रदर्शनका क्रममा करिब एक हजार प्रदर्शनकारीलाई पक्राउ गरिएको छ भने कम्तीमा दुई जना गम्भीर घाइते भएका छन्।

फ्रान्सको गृहमन्त्रालयले देशभर करिब चार लाख १० हजार मानिस प्रदर्शनमा सहभागी भएको दाबी गरेको छ। तर, आन्दोलनको नेतृत्व गरिरहेका मजदुर संगठनहरूले सहभागीको संख्या आठ लाख हाराहारी रहेको दाबी गरेका छन्।

प्रदर्शन हिंसात्मक बन्न सक्ने आशंकामा सरकारले देशभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरेको थियो। स्थिति नियन्त्रणबाहिर जान नदिन संगठित अपराध तथा आतंकवादविरुद्ध परिचालन हुने विशेष प्रहरी टोलीसमेत खटाइएको विवरणमा उल्लेख छ।

पेरिसदेखि मार्सेईसम्म तनाव

राजधानी पेरिसमा प्रदर्शनकारी र प्रहरीबीच पटकपटक झडप भएको थियो। केही नकाबधारी युवाले कार सोरुमका सिसा फुटाएपछि प्रहरीले बल प्रयोग गरेको थियो। फ्रान्सको प्रमुख बन्दरगाह सहर मार्सेईमा प्रदर्शनकारीले सडक अवरुद्ध गर्दै ब्यारिकेडमा आगो लगाएका थिए।

त्यस्तै, लियोँ र बोर्डोमा समेत प्रदर्शन तनावपूर्ण बनेको थियो। बोर्डोमा पसलका काठका फल्याक निकालेर सडक अवरोध सिर्जना गरिएको विवरण सार्वजनिक भएको छ। सुरक्षाकर्मीले हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा कतिपय स्थानमा झडप थप चर्किएको थियो।

महँगीले मर्माहत बनाएको प्रदर्शनकारीको गुनासो

प्रदर्शनमा सहभागी नागरिकले सरकारका आर्थिक नीतिले सर्वसाधारणमाथि अतिरिक्त बोझ थपेको आरोप लगाएका छन्। विशेषगरी न्यून तथा मध्यम आय भएका परिवारले दैनिक उपभोग्य वस्तु, आवास, यातायात र ऊर्जाको खर्च धान्न कठिन हुँदै गएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

प्रदर्शनकारीहरूको मुख्य असन्तुष्टि महँगीमा मात्रै सीमित छैन। उनीहरूले आर्थिक असमानता बढ्दै गएको, श्रमिकको आम्दानीअनुसार जीवनयापन सहज हुन नसकेको र सरकारका निर्णयले सम्पन्न वर्गलाई बढी लाभ पुर्‍याएको आरोपसमेत लगाएका छन्।

सामाजिक असन्तोष गहिरिँदै

राष्ट्रपति इम्यानुएल म्याक्रोन नेतृत्वको सरकारका आर्थिक तथा सामाजिक नीतिप्रति देखिएको असन्तुष्टि फ्रान्सको राजनीतिक नेतृत्वका लागि चुनौतीका रूपमा उभिएको छ। प्रदर्शन र हडताल फ्रान्सको राजनीतिक तथा सामाजिक इतिहासमा नागरिक असन्तुष्टि व्यक्त गर्ने प्रभावशाली माध्यम रहँदै आएका छन्। विशेषगरी श्रम अधिकार, निवृत्तिभरण सुधार, कर नीति र जीवनयापनको खर्चका विषयमा फ्रान्समा पटकपटक ठूला आन्दोलन भएका छन्।

पछिल्लो प्रदर्शनले पनि आर्थिक नीतिप्रतिको असन्तुष्टि सडकसम्म पुगेको देखाएको छ। सरकारका लागि सार्वजनिक सुरक्षा कायम गर्नुका साथै नागरिकका आर्थिक माग सम्बोधन गर्नु चुनौतीपूर्ण बनेको छ।

विद्यालयको समस्याबाट सुरु भएको आन्दोलन देशव्यापी

पछिल्लो आन्दोलनको सुरुवात विद्यालयमा शिक्षक तथा कर्मचारी अभाव र शैक्षिक पूर्वाधारको कमजोर अवस्थाविरुद्ध विद्यार्थीले गरेको विरोधबाट भएको थियो। गत महिना पेरिसका उपनगरीय क्षेत्रमा सुरु भएको विद्यार्थी आन्दोलन विस्तार हुँदै श्रमिक, ट्रेड युनियन र सर्वसाधारणको साझा असन्तुष्टिमा परिणत भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

प्रदर्शनकारीले शिक्षामा सरकारी लगानी बढाउन, थप शिक्षक नियुक्त गर्न, विद्यार्थीलाई दिइने आर्थिक सहायता वृद्धि गर्न तथा घरभाडा नियन्त्रण गर्न माग गरेका छन्। मध्यपूर्वमा जारी युद्धका कारण ऊर्जा मूल्यमा परेको दबाबले पनि फ्रान्समा जीवनयापनको खर्च बढाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ।

म्याक्रोन सरकारलाई राजनीतिक चुनौती

फ्रान्समा बढ्दो जनअसन्तुष्टिले राष्ट्रपति म्याक्रोनको कार्यकालको अन्तिम चरणलाई थप चुनौतीपूर्ण बनाएको छ। सन् २०२७ मा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने भएकाले पछिल्लो आन्दोलनलाई राजनीतिक दृष्टिले समेत महत्त्वपूर्ण मानिएको छ।

वामपन्थी नेता जाँ–लुक मेलान्सोनले प्रदर्शनकारीका माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्। उता, दक्षिणपन्थी नेतृ मरिनले पेनले पनि सरकारको आलोचना गरेकी छन्। फ्रान्समा सुरु भएको विरोधको प्रभाव छिमेकी युरोपेली मुलुकहरूमा समेत देखिन थालेको छ। बेल्जियम, इटाली र अल्बानियामा पनि प्रदर्शन सुरु भएका छन्।

बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको अभाव र आर्थिक असमानताले सिर्जना गरेको असन्तुष्टि सम्बोधन गर्न नसके फ्रान्समा आन्दोलन अझ लम्बिन सक्ने संकेत देखिएको छ।

फ्रान्स महँगीले मर्माहत

ट्रेन्डिङ ( साप्ताहिक )