Logo
१६ चैत्र २०८०, शुक्रबार

एनआईसीको प्रमुख कार्यकारी अधिकृतमा पुनः न्यौपाने

अक्षरपाटी
२०७९ कात्तिक १६ , बुधबार ०८:११ मा प्रकाशित

काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रोशन कुमार न्यौपाने नियुक्त भएका छन्।

बुधबार बसेको सञ्चालक समितिको ५७३ औं बैंठकले न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृतमा पुर्ननियुक्त गरेको हो। हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका न्यौपानेलाई बैंकको सञ्चालक समितिले मिति २०७९ मंसिर १५ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतको पदमा थप ४ वर्षको अवधिको लागि पुर्ननियुक्त गर्ने निर्णय गरेको छ।

सन् २००८ अप्रिलदेखि तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए।

सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हालेपछिको छोटो अवधिमा नै बैंकले विविध सूचांकहरुमा उत्साहजनक व्यावसायिक उचाइ हासिल गरेपछि बैंक सञ्चालक समितिको ०७५ मंसिर १६ को ३७९ औं बैंठकले उनलाई ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो।

३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनी मुलुकको सबैभन्दा ‘कान्छो सीईओ’ को रुपमा समेत चर्चित भए।

रसुवा जिल्ला स्थायी घर भई हाल काठमाडौं बुढानीलकण्ठ बस्ने ४२ वर्षका न्यौपानेले उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधिमा नै अत्यन्त सफल प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकिङ्ग क्षेत्रमा उदयमान भएका थिए।

वहाँले बैंकको नेतृत्वदायी भूमिकामा आएपछि उदाहरणीय लगन, परिश्रम, दृढता, संकल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्दै गर्दा बैंक अधिकांश वित्तीय सूचकांकहरुमा पहिलो नम्बरमा पुगेको छ।

एनआईसी एशिया बैंक