Logo
१३ वैशाख २०८१, बिहीबार

कैलालीमा नमूना मतदान, शत प्रतिशत मत सदर

अक्षरपाटी
२०७९ कात्तिक १८ , शुक्रबार ०१:११ मा प्रकाशित

कैलाली । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको तयारीका क्रममा कैलालीको सुख्खडमा नमूना मतदान गरिएको छ । नमूना मतदानमा शत प्रतिशत मत सदर भएको छ ।

कैलालीको निर्वाचन क्षेत्र नं। ३ को सुख्खड स्थित घोडाघोडी नगरपालिकाको कार्यालय परिसरमा आयोजित नमूना मतदानमा ४२ मत खसेकोमा सबै मत सदर भएको थियो । प्रदेश निर्वाचन कार्यालय, धनगढीको पहलमा भएको नमूना मतदानमा नगरपालिकाका प्रमुख खडक रावत र उपप्रमुख गुलियादेवी चौधरीलगायत गाउँघरमा खटिइरहने स्वास्थ्य स्वयम्सेविका, पालिकाका कर्मचारीलगायत सहभागी थिए । नमूना मतदानको अभ्यासलाई निरन्तरता दिन सकेमा आसन्न निर्वाचनमा बदर मत संख्या घट्ने अपेक्षा रहेको नगर प्रमुख रावतले बताए ।

निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले निर्वाचनमा बदर मत घटाउने र मतदातालाई मतदाता शिक्षा दिने उदेश्यले नमुना मतदान गरिएको बताए । निर्वाचनमा मतदान गर्ने तरिका लगायतका विषयमा जानकारी दिन यो कार्यक्रम अघि बढाइएको उनले बताए ।

यस अघि कैलालीको निर्वाचन क्षेत्र नं। ४ को गोदावरी नगरपालिका क्षेत्रमा पनि नमूना मतदान कार्य सम्पन्न भएको थियो । जिल्लाका अन्य पालिकामा पनि नमूना मतदानको तयारी गरिएको छ ।

यसबाहेक यही कात्तिक १८गतेबाट कैलाली जिल्लाका सबै निर्वाचन क्षेत्रका वडा र टोलमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न एकसय २६ महिला स्वयम्सेवी परिचालन गर्न लागिएको छ ।