Logo
१४ वैशाख २०८१, शुक्रबार

चाडपर्व सकिएसँगै निर्वाचन नपर्खी भारत फर्किँदै युवा

अक्षरपाटी
२०७९ कात्तिक १८ , शुक्रबार ०४:११ मा प्रकाशित

कैलाली। भरखरै दसैँ र तिहार सकिएको छ। महत्वपूर्ण चाडपर्वको माहोल सकिएसँगै देशभर चुनावी चहलपहल सुरु भएको छ। प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि सभा, जुलुस र र्‍यालीको रौनक सुरु भए पनि सुदूरपश्चिमका युवा भने अनुहारमा उदासी बोकेर भारत भासिन वाध्य छन्।

उम्मेदवार मतदाता रिझाउन मीठामीठा नारा र चुनावी योजना बोकेर गाउँ पसिरहे पनि गाउँका युवा भने भारतमा काम गरेर परिवार पाल्ने सानो सपना बोकेर भारत पस्न थालेका छन्।

दसैं र तिहारको छेको पारेर घर आएका यस क्षेत्रका अधिकांस युवालाई चुनावले कतै छोएको छैन। गाउँ आएका युवा तिहार सकिएसँगै कामको खोजीमा भारतका विभिन्न गन्तव्यमा निस्कन थालेका हुन्।

कामका लागि भारत फर्कन लागेका कैलालीको मोहन्यालका लागि रामसिंह सिजापतिले गौरीफन्टा नाकामा उभिएर भने, ‘देश छोडेर परदेशी हुन कसलाई रहर लाग्ला र १’ निर्वाचन सकेर गए पनि हुन्थ्यो होला नि भन्ने प्रश्नमा उनले भने, ‘राजनीति गर्नेलाई पो गफ दिन र घर चलाउन गाह्रो छैन, हाम्रा लागि त १५ दिन भनेको पनि एक युग हो। १५ दिन काम गरेनौँ भने घरका बालख्ख भोकै मर्छन।’

सुदूरपश्चिम र कर्णालीका पहाडी क्षेत्रका आर्थिक अवस्था कमजोर भएका युवाका लागि भारत नै रोजगारीको प्रमुख गन्तव्य हो। भारतमै रोजगारी गरेर उनीहरु वर्षदिनभरीको जोहो गर्छन।

२०७४ को निर्वाचनबाट चुनिएर मुख्यमन्त्री बनेका त्रिलोचन भट्टले यहाँका युवाले भारत जानुपर्ने अवस्थाको अन्त्य गर्ने भने पनि यो पाँच वर्षमा कति युवाले भारतमा मजदुरी गरेर परिवार पालिरहेका छन् भन्ने तथ्यांक राख्नेसम्म काम गर्न सकेनन्।

‘गएको निर्वाचनमा पनि हाम्रो जीवन परिवर्तन गर्छौँ भन्नेहरु भोट माग्न आएकै हुन’, भारतको दिल्लीमा काम गर्दै आएका शन्तोस चन्दले भने, ‘यो उनीहरुको भन्ने कुरा हो, हामीले गर्ने भनेको भारतमै चौकीदारी हो।’

भोट दिएर पनि चौकीदारी नै गर्नु छ भने कसैलाई कुर्सी उक्लन सजिलो बनाइदिन किन १५ दिन खेर फाल्ने भन्ने तर्क चन्दको छ ।

यतिबेला कैलालीको गौरीफन्टा नाकाबाट दैनिक चारदेखि साढे चार सय युवाहरु कामका लागि बाहिरिने गरेका छन्। सीमास्थित सशस्त्र प्रहरी बल बोर्डर अफ पोस्टका अनुसार त्यति नै सँख्यामा कञ्चनपुरको गड्डाचौकीबाट गइरहेका छन्।

सूदुरपश्चिमको डोटी, अछाम, बाजुरा, बझाङ, बाजुरा, बैतडी, कैलाली, कञ्चनपुरलगायत कर्णाली प्रदेशको पहाडी क्षेत्रका युवा जागिरको खोजीमा भारतको कालापहाड, मुम्बई, दिल्ली, पिथौरागड, पञ्जाब, नासिक, बैङ्लोरलगायतका क्षेत्रमा पुग्ने गरेका छन्।