Logo
२० मंसीर २०७९, मंगलबार

देउवा भन्छन् : लिम्पियाधुरा, लिपुलेक, कालापानी कुटनीतिक पहलमा फिर्ता ल्याउँछु

अक्षरपाटी
२०७९ कात्तिक १८ , शुक्रबार ०९:११ मा प्रकाशित

डडेल्धुरा। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन गरी एक ठाउँमा उभिनुपरेको बताए।

गृहपालिका गन्यापधुरा–२ वडालमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेससहितको गठबन्धन बहुमतका साथ विजयी हुने दाबी गरे।

सबै पक्ष, जातजाति र भूगोल तथा अन्यायमा परेका मानिसको पक्षमा रहेका गठबन्धका उम्मेदवारलाई विजयी बनाउन उनले आग्रह थियो। राजनीतिमा स्थायी शत्रु र मित्र नहुने भएकाले राजनीति परिस्थितिअनुसार चल्ने उनको भनाइ थियो।

प्रधानमन्त्री देउवाले न्यायपालिका स्वतन्त्र हुनुपर्नेमा जोड दिँदै न्यापालिकामाथिको हस्तक्षेप र आरोप बन्द हुनुपर्ने बताए। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा न्यायालय र संविधाननलाई कमजोर पार्ने चेष्टा गरेको आरोप लगाउँदै प्रधानमन्त्री देउवाले न्याय क्षेत्रलाई स्वतन्त्ररूपमा काम गर्ने वातावरण आफ्नो नेतृत्वको सरकारले कायम गरेको बताए।

कुनै पनि व्यक्ति वा प्रधानमन्त्रीले संसद् भङ्ग गर्न नपाउन् भन्ने अभिप्रायले लोकतन्त्रको मर्म र जनताको अभिमतका आधारमा तयार पारिएको नेपालको संविधान मास्ने र च्यात्ने खतरा बढेको तर ससंद् र अदालत नै संविधानको रक्षा गर्ने निकाय भएको उनको भनाइ थियो।

उनले अतिक्रमित नेपालको भूमि कुटनैतिक पहल र आपसी सम्बन्धका आधारमा फिर्ता ल्याउन पहल भइरहेको जानकारी दिए।

आफू पनि सुदूरपश्चिमवासी भएकाले लिम्पियाधुरा, लिपुलेक, कालापानी र अन्य भूमिसम्बन्धी विवाद पनि कूटनीतिक पहलका आधारमा समाधान गर्ने उनले स्पष्ट पारे।

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम र डडेल्धुराको विकासका लागि आफू सधैँ प्रतिबद्ध भएको बताए। डडेल्धुरामा मेडिकल कलेज निर्माणको प्रक्रिया अगाडि बढिसकेको जानकारी दिँदै उनले पश्चिम सेती जलविद्युत् आयोजना, विमानस्थल, ग्रामीण सडकको स्तरोन्नति, सिँचाइ, खानेपानी र विद्यालय निर्माण जस्ता विकासका गतिविधि यस क्षेत्रमा अगाडि बढेको बताए।

प्रधानमन्त्री देउवाले कात्तिक १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रुपाल तथा २० गते आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

शेरबहादुर देउवा