Logo
१३ वैशाख २०८१, बिहीबार

चीन जोड्ने महाकाली करिडोर पाँच वर्षमै सम्पन्न हुन्छ : लेखक

अक्षरपाटी
२०७९ कात्तिक १८ , शुक्रबार १०:११ मा प्रकाशित

कञ्चनपुर। पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले चीन जोड्ने महाकाली करिडोर पाँच वर्षभित्रै सम्पन्न हुने बताएका छन्।

कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला हुँदै चीनको नाकासम्म सडक विस्तारको काम पाँच वर्षभित्र सम्पन्न गरेर यो नाकालाई त्रिदेशीय नाकाका रुपमा विकास गर्ने उनले बताए।

कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका नेता लेखकले शुक्रबार भीमदत्त नगरपालिका–९ खल्ला मसेटीमा चुनावी घरदैलोका क्रममा ब्रह्मदेवबाटै करिडोरको बाटो डडेल्धुराहुँदै चीनको नाकासम्म पुग्ने जानकारी गराए।

‘यो ठाँउले अत्यन्त राम्रो सम्भावना बोकेको छ,’ लेखकले भने, ‘करिडोर बनेपछि यो बस्ती भएर आर्थिक गतिविधि बढ्ने, होटल व्यवसाय खुल्ने, गाउँमै रोजगारी पाउने सम्भावना अधिका छ।’

उनले आफूहरु निर्वाचन जितेर गइसकेपछि पाँच वर्षमै करिडोरको काम गरिसक्ने बताए।

‘धार्मिक पर्यटनका दृष्टिले पनि यो ठाउँको सम्भावना राम्रो छ,’ उनले भने,’यहाँको विकासका लागि सरकारले बजेट दिएर काम अघि बढिरहेकै छ।’

नेता लेखकले दोधारा चादँनीको सुख्खाबन्दरगाहलाई महाकाली पुल हुँदै गड्डाचौकीसम्म जोड्ने त्यसपछि उत्तर ब्रह्मदवेसित जोडर करिडोरको पहुँचसम्म भारत र सुख्खाबन्दरगाह पु¥याइने बताए।

खल्ला मसेटीको विकासका लागि सिँचाइ, खानेपानी, तटवन्ध निर्माण लगायतका काम अघि बढिरहेको बताउँदै उनले आफू निर्वाचन जितेर गएपछि अधुरा काम केन्द्रीय बजेटमै समावेश गरेर गर्ने प्रतिवद्धता व्यक्त गरे।

यहाँ तटबन्धका लागि ६० लाख, ब्रह्मदेवदेखि मुसेटटीसम्मको बाटो निर्माणका लागि ३० लाख बजेट बिनियोजन भएको उनले बताए।

सो क्षेत्रमा सिँचाइका लागि बोरिङ्गका लागि पनि एक करोड भन्दा बढी बजेट बिनियोजन भएको उनले जानकारी दिए।
लामो समयदेखि स्थानीयबासी भूमिको पूर्जा नभएर बसिरहेको भन्दै उनले भूमि आयोगले निःशुल्क जग्गाधनी प्रमाण पुर्जा दिने बताए।

आयोगका केन्द्रीय अध्यक्षले नै यो ठाउँको अवस्था हेरेर गएपछि निःशुल्क जग्गाधनी पूर्जा दिने विषयमा छलफल भएको उनले जानकारी दिए।

रमेश लेखक