Logo
१४ वैशाख २०८१, शुक्रबार

एमाले उम्मेदवार कोमल वलीलाई आयोगको स्पष्टीकरण

अक्षरपाटी
२०७९ कात्तिक १९ , शनिबार ०९:११ मा प्रकाशित

दाङ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य दाङ क्षेत्र नं ३ की नेकपा एमालेबाट उम्मेदवार कोमल वलीलाई निर्वाचन प्रचार–प्रसारका लागि बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणअन्तर्गत उपदफा (१)को खण्ड (ट) मा ‘निर्वाचन प्रचार–प्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’, व्यवस्था छ।

“तपाईँले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी निर्वाचन प्रचार–प्रसार गर्नु भएको होइन भन्ने आधार, प्रमाण के छ ? निर्वाचनका प्रक्रिया अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईँले किन जानाजानरूपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नुभएको हो ?”, आयोगको स्पष्टीकरणमा भनिएको छ।

आयोगले निर्वाचन प्रचार–प्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदाहुँदै सो कार्य गरेको देखिएकाले आचारसंहिताको उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही किन हुनु नपर्ने हो ? भनी पत्र प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय दाङमा प्राप्त हुने गरी जवाफ पठाउन उम्मेदवार वलीलाई भनेको छ।

कोमल वली