Logo
२० कात्तिक २०८३, शुक्रबार

ग्लोबल आइएमईको नयाँ छलाङ, उत्तरढोकामा १२ तले मुख्यालय बन्दै

अक्षरपाटी
२०८३ कात्तिक २० , शुक्रबार ०५:११ मा प्रकाशित

काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन निर्माण गर्ने भएको छ।

बैंकको संस्थागत विकास र भविष्यको आवश्यकतालाई लक्षित गर्दै निर्माण हुन लागेको १२ तले भवनको शुक्रबार विधिवत् भूमिपूजा गरिएको छ।

करिब १ लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा निर्माण हुने यो भवन बैंकको प्रशासनिक केन्द्रका रूपमा मात्रै नभई आधुनिक बैंकिङ पूर्वाधार, प्रविधि र वातावरणीय दिगोपनको नमुना बनाउने लक्ष्य राखिएको छ।

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार नयाँ कर्पोरेट भवनले ग्लोबल आइएमई बैंकको संस्थागत स्थायित्व, ग्राहकप्रतिको उत्तरदायित्व र दीर्घकालीन विकासको दृष्टिकोणलाई प्रतिबिम्बित गर्नेछ।

भवन निर्माणमा नवीनतम इन्जिनियरिङ प्रविधिलाई प्राथमिकता दिइनेछ। जमिनको स्थिरता तथा आसपासका संरचनाको सुरक्षालाई ध्यानमा राख्दै ‘सेक्यान्ट पाइलिङ’ प्रविधि प्रयोग गरिने बैंकले जनाएको छ।

त्यस्तै, भवनलाई वातावरणमैत्री बनाउन वर्षाको पानी संकलन तथा पुनःप्रयोग गर्ने प्रणाली र सौर्य ऊर्जा प्रणाली जडान गरिनेछ।

यसले भवनको ऊर्जा खपत घटाउनुका साथै दिगो पूर्वाधार विकासमा समेत योगदान गर्ने अपेक्षा गरिएको छ।

सेवाग्राही र कर्मचारीको सहजतालाई ध्यानमा राख्दै भवनमा दुई तहको भूमिगत पार्किङ निर्माण गरिनेछ।

आधुनिक सुविधा र प्रविधिसहितको नयाँ भवनले बैंकका प्रशासनिक तथा संस्थागत गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास बैंकको छ।

७७ जिल्लामा पुगेको बैंकको पूर्वाधार

ग्लोबल आइएमई बैंकले हाल मुलुकका ७७ वटै जिल्लामा वित्तीय पहुँच पुर्‍याउँदै आएको छ।

बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विभिन्न प्रतिष्ठित सम्मानसमेत प्राप्त गर्दै आएको जनाएको छ।

अध्यक्ष ढकालले बैंकलाई वर्तमान उचाइसम्म पुर्‍याउन योगदान गर्ने ग्राहक, शेयरधनी, नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत नियामक निकाय तथा बैंक परिवारप्रति आभार व्यक्त गरेका छन्।

उनले नयाँ कर्पोरेट भवनले बैंकका वित्तीय सेवाहरूलाई थप सहज, प्रविधिमैत्री र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

‘यो नयाँ पूर्वाधारले बैंकको संस्थागत क्षमता विस्तारसँगै देशको समग्र आर्थिक विकासमा थप टेवा पुर्‍याउनेछ,’ अध्यक्ष ढकालले भनेका छन्।

ग्लोबल आइएमई बैंकले नयाँ कर्पोरेट भवनलाई आफ्नो संस्थागत यात्राको अर्को महत्वपूर्ण अध्यायका रूपमा लिएको छ।