Logo
१३ असार २०८३, शनिबार

देउवाले डडेल्धुरामा दुई सभालाई सम्बोधन गर्दै

अक्षरपाटी
२०७९ कात्तिक २० , आईतबार ०८:११ मा प्रकाशित

डडेल्धुरा। चुनावी प्रचारप्रसारका लागि गत बिहीबार डडेल्धुरा पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज जिल्लामा आयोजना हुने दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीसमेत रहेका देउवा आज गृहजिल्ला डडेल्धुरामा हुने दुईवटा चुनावी सभालाई सम्बोधन गरेर काठमाडौं फर्कदै तयारी छ। उनी गत बुधबार काठमाडौंबाट धनगढी पुगेका थिए।

आज बिहान ११ बजे आलिताल गाउँपालिकाको गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिकाको जोगबुढामा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

आफ्नो चुनावी क्षेत्र डडेल्धुरामा उनले बिहीबार अमरगढी नगरपालिकाको बसपार्कमा आयोजित सभालाई सम्बोधन गरेका थिए। शुक्रबार नवदुर्गा गाउँपालिका बेलापुर खुनी र गन्यापधुरा गाउँपालिका बडालमा चुनावी आमसभालाई सम्बोधन गरेका थिए।

देउवाले शनिबार अजयमेरू गाउँपालिका भद्रपुर र भागेश्वर गाउँपालिका रूपालमा आयोजित आमसभालाई सम्बोधन गरेका थिए ।

देउवा मंसिर ४ मा हुने चुनावका लागि सत्ता गठबन्धनका तर्फबाट डडेल्धुरामा उम्मेदवार छन् । डडेल्धुरामा एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र छ । उनी ०४८ सालदेखि डडेल्धुराबाट लगातार चुनाव जित्दै आइरहेका छन्।

डडेल्धुरामा नेपाली कांग्रेस वीपीबाट कर्णबहादुर मल्ल, जनता समाजवादी पार्टीबाट श्याम सिनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द खडायत र तथा स्वतन्त्रबाट सागर ढकाल, विक्रम शाही, लाल कठायत र कर्णसिंह रावल उम्मेदवार छन्।