Logo
११ वैशाख २०८१, मंगलबार

चुनाव बहिस्कार गर्ने पाँच ट्रेड युनियनको घोषणा

अक्षरपाटी
२०७९ कात्तिक २१ , सोमबार ०४:११ मा प्रकाशित

काठमाडौं । विभिन्न पार्टी निकटका पाँच ट्रेड युनियन महासंघहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका छन् ।

आज (सोमबार) रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संयुक्त ट्रेड युनियन संघर्ष समितिले आगामी चुनावबाट निस्कने परिणाम घोर प्रतिक्रियावादी एवं राष्ट्रियता, जनतन्त्र र जनजीविकाविरुद्ध हुने जनाएको छ।

क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघले संयुक्त रुपमा चुनाव बहिस्कार घोषणा गरेका हुन् ।

निर्वाचनको नाममा साम्राज्यवाद–विस्तारवादका दलाल एवं थैलिपतिहरुद्वारा गरिएको फगत कार्टेलिङ प्रहसन मात्र भएको युनियनहरुको ठहर छ।
ट्रेड युनियन संघर्ष समिति श्रमिकवर्गका मुक्ति, न्याय र समानताका निम्ति अधिक कठोर संघर्षको नेतृत्व गर्न पनि दृढ रहेको बताइएको छ।

पत्रकार सम्मेलनमा बोल्दै क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष राजन तिमिल्सिनाले भने, ‘व्यापार व्यवसायहरु टाट पल्टेका छन्, बैंक वित्तिय संस्थाहरु चल्नै नसक्ने अवस्थामा रहेका छन् र उनीहरुको दैनिक कारोबार बन्द भइसकेका छन् तैपनि शासक वर्गहरुले कथित निर्वाचनको नाटक देखाइरहेका छन् ।’

यसैगरी,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष बिनोद थापाले चुनाव जितेपछि गाउँ नर्फकने नेताहरु मंसिर ४ गते हुने निर्वाचनका लागि झोली बोकेर गाउँ–गाउँ पुगिरहेको उनले सुनाए ।

विभिन्न दलका नेताहरुले मजदुरहरुलाई झुटा नारा दिएर झुक्काइरहेको भन्दै उनले दुखेसो पोखे । एमसीसी, एसपीपी समर्थन गर्नेहरु नक्कली प्रतिवद्धतापत्र लिएर जनतामाझ गइरहेको भन्दै उनले जनताले चुनाव वहिस्कार गर्नुपर्ने धारणा राखे । उनले भने,‘चुनावमा भोट दिनु भनेको फेरी ५ वर्ष देशलाई भुमरीमा पार्नु हो ।’

त्यस्तै, अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव राजकुमार थापाले पार्टीहरुकै कारण मजदुरहरुलाई विभाजन हुनु परेको दाबी गरेका छन्। मजदुरहरुको समस्या समाधान गर्ने वाचा गरेका नेतृत्वले आजसम्म आफूहरुको पक्षमा केही काम नगरेको बताए ।

उनले भने, ‘मजदुर वर्गकै भोटबाट मन्त्री भएका हरुले पनि हामीहरुकै समस्या समाधान गर्न सकेनन्।’

मंसिरमा हुने निर्वाचनलाई नौटकींको संज्ञा दिँदै उनले भने, ‘आगामी निर्वाचन, न त नीतिमा छ, न त सिद्धान्तमा छ, न त वैचारिक रुपमा छ, जसरी हुन्छ चुनाव जित्ने र विदेशीको इशारामा हिड्ने र देश बेच्न मात्रै उद्देश्य छ ।’ चुनाव बहिस्कार गर्नुको विकल्प नरहेको उनले बताए ।

टिका घिमिरेले आगामी चुनाव जनताको हितमा नरहेको भन्दै शसक्त बहिस्कार गर्नुपर्ने बताए ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष इश्वर तिमिल्सिनाले अहिले प्रजातन्त्र बदनाम र मुठ्ठी भरका पुँजीपति वर्गको राज्यसत्तामा पकड जमाउने माध्यम भएको उनले टिप्पणी गरे।

प्रजातन्त्रमा लामो समयदेखि मजदुरवर्गलाई उपेक्षा गरिदै आएको भन्दै उनले आगामी निर्वाचनमा मजदुर वर्गको प्रतिनिधित्व नभएको दाबी गरे ।
६० लाख भन्दा बढी बिदेशमा भएका मजदुरलाई मतदान गर्ने व्यवस्था नभएको भन्दै निर्वाचन वहिस्कार गर्नुको विकल्प नरहेको बताए ।

 

 

 

 

 

 

चुनाव पाँच ट्रेड युनियन