Logo
११ वैशाख २०८१, मंगलबार

काठमाडौँ–४ मा गगन र राजनबीच रोचक प्रतिस्पर्धा

अक्षरपाटी
२०७९ कात्तिक २२ , मंगलबार ०६:११ मा प्रकाशित

काठमाडौं। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

बिसं २०७४ को निर्वाचन प्रतिस्पर्धी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र एमालेका प्रभावशाली नेता राजन भट्टराई यसपटक पनि चुनावी मैदानमा छन्।

विसं २०७४ को निर्वाचनमा थापाले भट्टराईलाई पराजित गरेका थिए। गत निर्वाचनमा विजयी थापाले २१ हजार पाँच सय ५८ मत प्राप्त गरेका थिए।

त्यतिबेला भट्टराईलाई वाम गठबन्धन एमाले–माओवादीको समर्थन थियो। तर, यसपटक भने एमाले एक्लै चुनावीमा मैदानमा भएकाले गठबन्धनको साथका कारण थापालाई चुनाव जित्न सहज हुने अनुमानहरु व्यक्त हुन थालेका छन्।

वाम गठबन्धन हुँदासमेत भट्टराईलाई तीन हजार मतको अन्तरले पराजित गरेका थापाले यसपटक पनि उनीहरु बीच नै प्रतिस्पर्धा हुनेदेखिएको छ।

गत वैशाखमा भएको स्थानीय तहको मतपरिणामलाई केलाउँदा पनि सो क्षेत्रमा गठबन्धन बलियो छ। सो क्षेत्रमा कूल १२ वडामध्ये एमाले नौ र कांग्रेस तीन वडामा विजयी भएको छ।

सो क्षेत्रमा एमालेले काठमाडौँ महानगरपालिकाको १ र बूढानीलकण्ठ नगरपालिकाका आठ वडा क्रमशः १, २, ८, ९, १०, ११, १२ र १३ मा जित हासिल गरेको छ।

कांग्रेसले काठमाडौँ महानगरका ७, ८ र ३० वडामा जित हासिल गरेको छ। स्थानीय तहको निर्वाचनमा १२ वडामा एमालेका वडाध्यक्षले १६ हजार पाँच सय सात मत प्राप्त गरेका थिए । यस्तै नेपाली कांग्रेसका वडाध्यक्षले १५ हजार सात सय ६३ मत प्राप्त गरेका थिए।

त्यस्तै, एकीकृत समाजवादीका वडाध्यक्षले दुई हजार चार सय १४ र माओवादी केन्द्रले आठ सय २८ मत प्राप्त गरेका थिए। वडाध्यक्षले पाएको मतका आधारमा सत्ता गठबन्धन एमाले भन्दा २ हजार एक सय ९८ मतले अगाडि छ।

सो क्षेत्रमा कांग्रेसका थापा र एमालेका भट्टराईसहित हाम्रो नेपाली पार्टीबाट अर्चन शम्शेर राणा, एकीकृत शक्ति नेपालबाट नवराज भण्डारी, आमूल परिवर्तन मसिहा पार्टीबाट धु्रवराज गिरी, नेपाल मजदूर किसान पार्टीबाट रमेश डङ्गोललगायतको उम्मेदवारी छ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रतर्फ काठमाडौँ क्षेत्र नं ४ मा ३३ मतदानस्थल र ८२ मतदान केन्द्र निर्धारण गरिएको छ।

सो क्षेत्रमा ६९ हजार सात सय ५२ मतदाताको सङ्ख्या रहेको छ। तीमध्ये ३३ हजार चार सय ७४ पुरुष र ३६ हजार दुई सय ७७ महिला छन्। अन्य मतदाताको सङ्ख्या एक रहेको छ।

गगन राजन