Logo
६ वैशाख २०८१, बिहीबार

पाका राजनीतिज्ञ सिटौला र लिङ्देनलाई घन्टीको चुनौति

अक्षरपाटी
२०७९ कात्तिक २३ , बुधबार ०८:११ मा प्रकाशित

झापा। आगामी मङ्सिर ४ गते हुने प्रतिनिध र प्रदेशसभा सदस्य निर्वाचनको रौनक देशभर छाएको छ।

झापा क्षेत्र नं ३ पनि यसबाट अछुतो छैन। बरु यहाँको चुनावी माहोल झनै रोचक बनेको छ। यो क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन्।

यही क्षेत्रबाट कुनै समय राप्रपामै आस्था राख्ने प्रकाश पाठक सञ्चार कर्मबाट बिदा लिएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन्। पाठक यतिबेला लिङ्देन मात्र होइन परिवर्तन चाहने युवाको मन जित्ने दाउमा छन्।

नेता सिटौलालाई नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको त्रिपक्षीय समर्थन छ भने राप्रपा अध्यक्ष लिङ्देनलाई एमालेको दर्बिलो समर्थन छ।

तर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश पाठक भने नयाँ जोस, उर्जा र सोचका साथ चुनावमा होमिएका छन्। उनलाई नयाँ पुस्ताले रुचाएको दाबी उनको छ। पार्टीका केन्द्रीय सभापति रबि लामिछाने आफै पाठकको क्षेत्रमा पुगेर आमसभालाई सम्बोधन गर्नुले पनि सिटौला र लिङदेनलाको मत खस्कनले आंकलन एकथरीले गरिरहेका छन्।

चुनाव लक्षित कार्यक्रममा सिटौला र लिङ्देनले जीत सुनिश्चित भएको दाबी गरिरहेका छन्।

पाँच वर्षयता यो क्षेत्रमा विकासका नाममा केही काम नभएको भन्दै नेता सिटौला चुनावी अभियानमा झापा क्षेत्र नं ३ लाई समृद्ध बनाउन आफूले जित्नै पर्ने बताउँदै आएका छन्।

सिटौलाले भने, “जनताले विकास चाहेका छन्, यहाँका जनताको जनजीविका उकास्ने र विकासको मार्गमा डोहोर्याउन मैले जित्नुपर्छ।”

स्थानीय आवश्यकतासँगै राष्ट्रिय एजेण्डासहित नेता सिटौला जनता माझमा गइरहेका छन्।

यता, लिङ्देनले आफूले यस क्षेत्रको जनतासँग हातमा हात र काँधमा काँध मिलाएर काम गरेको दाबी गरेका छन्। “मैले यस क्षेत्रको विकासका लागि धेरै काम गरेको छु”, उनको भनाइ छ, “अझै धेरै काम गर्न बाँकी छ, त्यो पनि विस्तारै गर्दै जानेछु।”

रास्वपाका पाठक भने सदियौँदेखि कांग्रेस, एमाले र राप्रपाले सत्ता मात्रै ताकेको तर स्थानीय विपन्न, दलित, आदिवासी, जनसाधारणको जनजीविकासँग जोडिएका विषयमा कहिल्यै चिन्ता नलिएकाले आफू उनीहरुका समस्यासँग जोडिन आएको बताइरहेका छन्।

उनी पुराना र अग्रजको सम्मान गर्दै समाजको विकास र उन्नतीका लागि अब युवाले नेतृत्व लिनुपर्ने दाबी गर्छन। ‘त्यही जिम्मेवारीको भारी बोक्न म सञ्चार कर्म छोडेर आएको हुँु, उनले भने, ु मलाई विश्वास छ, यहाँका जनताले आस्था त्याग्ने छैनन् तर मत भने परिवर्तन गर्नेछन्।’

लिङ्देनले गत २०७४ सालको निर्वाचनमा सिटौलालाई पराजित गरेका थिए। ०७४ को प्रतिनिधिसभा निर्वाचनमा अध्यक्ष लिङ्देन ४४ हजार ६१४ मत ल्याएर विजयी भएका थिए भने नेता सिटौलाले ३१ हजार १५९ मत ल्याएका थिए।

तर यसपटक अवस्था फेरिएको आंकलन राजनीतिक वृत्तमा हुनथालेको छ। राप्रपामा आस्था राख्ने पाठक यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीबाट मैदानमा छन्। देशभर स्वतन्त्र र युवाको लहर झापा ३ मा पनि चलेको उनको दाबी छ।

झापा क्षेत्र नं ३ अन्तर्गत भद्रपुर नगरपालिकाको वडा नम्बर १ देखि ८ सम्म, कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिका, हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिका वडा नं १० पर्छ । यस क्षेत्रमा २८ वडा र एक लाख ३१ हजार चार सय ३२ मतदाता छन्।

गत २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कचनकवलको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले, हल्दिबारीको अध्यक्ष र उपाध्यक्ष दुवै राप्रपा र भद्रपुरमा नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा राप्रपाले जितेको छ।

अठ्ठाइस वडामध्ये कांग्रेसले १६, राप्रपाले पाँच, एमाले चार, माओवादीले दुई र एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेका छन्। स्थानीय निर्वाचनमा एउटा वडा जिताउनमा पनि पाठकको भूमिका ठूलो रहेको राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ।

झापा क्षेत्र नं ३