Logo
७ वैशाख २०८३, सोमबार

धान पकेट क्षेत्रकै किसान चामल किनेर खाँदै !

अक्षरपाटी
२०७९ कात्तिक २४ , बिहीबार ०१:११ मा प्रकाशित

तनहुँ। अहिले उत्पादन भइरहेको धानको भातको स्वादै फरक भएको तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय किसान विष्णुप्रसाद ओझा बताउँछन्।

“पहिले चामलको स्वाद गुलियो हुन्थ्यो। अहिले स्वाद नै फरक छ । अहिलेको चामलमा गुलियोपन छैन”, उनी भन्छन्, “पहिला गाउँमा एउटा घरमा मसिनो चामल पाक्दा गाउँभर नै बास्ना थाहा पाइन्थ्यो। अहिले बास्ना पनि कम आउने र कम गुलियो हुन्छ।”

कृषक ओझा प्राङ्गारिक मल खेतीपातीमा प्रयोग गर्ने चलन नै हराएको बताउँछन्। विगतमा गाईवस्तुको मल हाल्दा उत्पादन पर्याप्त हुनुका साथै स्वादिलो हुने गरेको उनको भनाइ छ।

“पहिले रासायनिक मल भन्ने नै थाहा थिएन। गोठ नै खेतबारीमा राखिन्थ्यो। प्राङ्गारिक मलले उत्पादन पर्याप्त हुन्थ्यो । स्वादिलो हुन्थ्यो”, उनले सम्झिए, “ढिकी, झाँतोमा कुटानीपिसानी गर्ने भएकाले पनि स्वादिलो हुन्थ्यो। अहिले विद्युतीय मेसिनमा कुटानी पिसानी हुँदा स्वाद फरक परेको जस्तो लाग्छ।”

अचेलको खेतीपाती नै गर्न खर्चिलो भएको उनको अनुभव छ । ुरासायनिक मलको प्रयोग गरिन्छ। त्यो किन्नै प¥यो । अहिले गाईवस्तु पाल्ने, मल उत्पादन गर्ने प्रचलन हराएको छ। अनि कसरी राम्रो उत्पादन होस्। खेती गरेर उत्पादन गर्नभन्दा बजारको चामल सस्तो पर्छ। केको दुःख गर्नु अहिलेकाले”, ओझाले भने, “भकारीको धान निकाल्नुभन्दा बजारको बोरा बोक्न सजिलो मान्छन् अचेल। दुःख किन गर्छन् र ?”

आफ्नै खेतबारीमा उत्पादन भएको धान किनेर खानुपर्ने अवस्था आएको बताउँदै उनले भने, “अधियाँ गर्ने मान्छे पाइँदैन। खेत बाँझै रहन्छ। आफ्नो खेत ठेक्कामा दिएर उत्पादन भएको धानलाई बजारबाट आफै किनेर चामल खानुपरेको छ ।”

विगतमा मङ्सिरे धान मात्रै ७० देखि ८० मुरी धान उत्पादन गर्ने गरेको ओझाले सम्झिए। केही वर्षदेखि आफूले खेती गर्न नसकेको उनी बताउँछन्।

उत्पादन धेरै भएको देखिए पनि खानका लागि पर्याप्त नहुने अग्रज किसान ओझाको अनुभव छ। उनले अहिले पनि केही खेतमा धान रोप्ने गरेका छन्। तर काम गर्न सक्ने अवस्था नभए पनि ज्याला र ट्र्याक्टर लगाएर खेती गर्दै आएको सुनाउँछन्। खेती नगर्न छोरा, बुहारी, नातीनातिनाले सुझाव दिने गरेको उनले सुनाए।

यस्तै व्यास नगरपालिका–७ का ८० वर्षीय इन्द्रबहादुर शाहीले उत्पादन गर्न नसकेपछि बजारको चामल किनेर खानुपर्ने अवस्था आएको सुनाउँछन्।

“खेतीपाती गर्न सकिँदैन। छोराछोरी बजार झर्ने र विदेश जाने गर्दा खेतीपाती गर्दैनन् । जसले गर्दा भएको जग्गा जमिन बाँझो भएका छन् र किनेर बजारको चामल खानुपर्ने बाध्यता भएको छ”, शाहीले भने।

बजारबाट किनेको चामलको मूल्यभन्दा उत्पादन लागत बढी हुने हुँदा पनि युवापुस्ताले चासो दिन छाडेको अगुवा कृषकको बुझाइ छ।

आफैँले खेतीपाती गर्दा उत्पादनभन्दा लागत बढी लाग्ने भएकाले विदेशिने वा बजारमा काम गरेर चामल किनेर खाने चलन बढ्दै गएको उनीहरुको भनाइ छ।

कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले धान उत्पादन बर्सेनि घट्दो क्रममा रहेको बताए।

“धान उत्पादन लागत वर्षेनी वृद्धि हुन्छ तर धानको मूल्य वृद्धि हुँदैन। जसले गर्दा धान खेतीमा युवाको चासो छैन”, उनले भने। साना किसानको धान बिक्री नै नहुँदा पनि उत्पादन घट्ने क्रममा रहेको उनको भनाइ छ।

जिल्लामा जमिन बाँझिने क्रम बढ्दै गएको तिवारीले बताए। सरकारले यसको नियन्त्रणका लागि रणनीतिक योजना तयार गर्नुपर्ने उनको भनाइ छ।

“जबसम्म स्थानीय, प्रदेश र संघ सरकारले जमिन बाँझो राख्न नपाउने नीति निर्माण गर्दैन। तबसम्म बाँझो जमिन बढ्दै जान्छ। यसको न्यूनीकरणका लागि सरकारले योजना बनाउनुपर्छ”, उनले भने।

धान उत्पादन वृद्धि

चालु आर्थिक वर्षमा तनहुँमा धान उत्पादन वृद्धि हुने भएको छ। धान फुल्ने समयमा वर्षा भएकाले उत्पादन वृद्धि भएको वरिष्ठ कृषि विकास अधिकृत तिवारीले बताए।

“गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरेका छौँ”, उनले भने। गत वर्ष आठ हजार हेक्टरमा गरिएको धान खेतीबाट ३२ हजार आठ सय २४ मेट्रिक टन धान उत्पादन भएको थियो। यस वर्ष उत्पादन क्षेत्र केही वृद्धि भएको उनले बताए।

यस वर्ष आठ हजार सात सय ३० हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ३३ हजार आठ सय ४० मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ।

कृषि पेसाबाट विमुख

कृषि पेसामा लागत वृद्धि हुने क्रम रहेकाले यसबाट विमुख हुने कृषक बढ्दै गएका छन्। आफैले उत्पादन गर्नुभन्दा किनेर चामल खान लागत कम पर्ने भएपछि दुःख गर्न युवा नचाहने बताइएको छ।

धान उत्पादनका लागि धेरै खर्च बढ्दा विदेशबाट आयातित चामल किनेर खान किसानले नै थालेको व्यास नगरपालिका–८ बर्लाचीका ७२ वर्षीय अगुवा व्यक्ति दिनानाथ लम्साल बताउँछन ।

उनी भन्छन्, “पुरानो परम्परागत खेतीपाती गर्ने चलन छैन। पूर्णरुपमा परम्परागत खेतपाती गर्ने चलन हराएको पनि छैन र पूर्णरुपमा आधुनिक प्रविधिको उपयोगबाट खेतीपाती गर्न सकिएको छैन। यसले गर्दा उत्पादनमा समस्या भएको हो।”

स्थानीय उत्पादित मल, बीउ हराएको र पूर्णरुपमा आयातित मल, बीउबिजन हुने भएकाले उत्पादन राम्रो भएको देखिने गरेको उनले बताए।

धेरै देखिए पनि दीर्घकालसम्मलाई अन्न नपुग्ने गरेको लम्साल बताउँछन्। तराई क्षेत्रमा जस्तो कामदार यहाँ नपाइने उनको अनुभव छ।

रासायनिक मलको प्रयोगले माटो बिग्रने र उत्पादन घट्ने उनीहरुको बुझाइ छ । विगतमा आफ्नै खेतबारीबाट उत्पादित खाद्यान्न खाएर स्वस्थ्य रहने गरेको अगुवा किसानको भनाइ छ।

विगतमा तनहुँ जिल्ला करिब करिब धान उत्पादनमा आत्मनिर्भर रहेको अगुवा किसान बताउँछन्। यहाँबाट अन्यत्र निर्यातसमेत हुने गरे पनि हाल जिल्लामा आयात हुने गरेको उनीहरु बताउँछन्।

खेती गर्नुभन्दा चामल किन्दा कम मूल्य पर्ने भएर पनि युवा कृषि पेसाबाट विमुख भएको पाइएको वरिष्ठ कृषि विकास अधिकृत तिवारी बताउँछन्।

तनहुँको व्यास नगरपालिकाअन्तर्गत साँगेफाँट, रिस्तीफाँट, सेरा, गजौडे, माझफाँट, शिशाघाट, सत्रसय, घाँसीकुँवा, भानु नगरपालिकाको चुँदीफाँट, बाइसजागर, आँबुखैरेनी गाउँपालिकाको ढापटार, बन्दीपुर गाउँपालिकाको याम्पाफाँट, सत्रसयफाँटमा धान उत्पादन हुन्छ।

त्यस्तै देवघाट गाउँपालिकाको वेटार, म्याग्दे गाउँपालिकाको गुणादी, अकलाफाँट, शुक्लागण्डकी नगरपालिकाको फिर्दीफाँट, क्यान्दीफाँट, मान्द्रेफाँट, भिमाद नगरपालिकाको डुम्रीबेसी, बुढुवाफाँट, बैडीफाँट, घिरिङ गाउँपालिकाको अत्रौलीफाँट, पुट्टारफाँट, ऋषिङ गाउँपालिकाको पिपलटारफाँटलगायतका क्षेत्रमा धान उत्पादन हुन्छ।

खेतीपाती धान

ट्रेन्डिङ ( साप्ताहिक )