Logo
३० वैशाख २०८१, आईतबार

तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरु भयो

अक्षरपाटी
२०८१ वैशाख १६ , आईतबार ०१:०४ मा प्रकाशित

काठमाडौं,१६ वैशाख । तेस्रो लगानी सम्मेलन सुरू भएको छ। मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना,उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आज तेस्रो लगानी सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका हुन्। सम्मेलनमा लगानीका निम्ति एक सय ५१ परियोजना शोकेस गरिनेछन्।

सम्मेलनमा वैदेशिक लगानी आकर्षित गर्न सरकारले अघि बढाएका नीतिगत, प्रशासनिक एवं कानुनी सुधारका प्रयासबारे सहभागीलाई जानकारी गराइनेछ। ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादनलगायत क्षेत्रसँग सम्बन्धित विभिन्न विषयगत सत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिने बताइएको छ।

सरकारले लगानी सम्मेलनका लागि करिब ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। सम्मेलनमा प्रस्तुत हुने १ सय ५२ आयोजनामध्ये ४ आयोजनाहरूको आयोजना विकास सम्झौता हुन सक्ने लगानी बोर्ड नेपालका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए।

नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिने छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छन् भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने छ ।

भोलि सोमबार समापन हुने सम्मेलनको पहिलो दिन उद्घाटन सत्र र दुईवटा मुख्य सत्र हुनेछन् । दोस्रो दिन ११ वटा समानान्तर सत्र सञ्चालन गरिनेछ । सम्मेलनका क्रममा लगानीकर्ताले प्रधानमन्त्री र अर्थमन्त्रीसँग साक्षात्कार गर्ने व्यवस्था मिलाइएको छ । देशको आर्थिक वृद्धिको वाहक निजी क्षेत्रलाई सहआयोजक बनाएर सरकारले सम्मेलन आयोजना गरेको हो ।