भरतपुर। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उच्च मनोबलका साथ काम गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन्।
मङ्सिर ४ गते हुने निर्वाचनमा कसैको प्रलोभन, डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर मतदाताले विवेकको मत हाल्न पाउने वातावरण सिर्जनाका लागि उच्च मनोबलका साथ काम गर्न नेपाल प्रहरीका अधिकृत र जवानहरूलाई उनले निर्देशन दिए।
भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयका अधिकृत र तालिममा रहेका प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले सत्य सेवा सुरक्षणमको संकल्पसहित प्रहरीले मतदानस्थलमा खटिएर सुरक्षित मतदान कार्यमा सघाउँदै आएको बताए।
उनले भने, “मङ्सिर ४ गते हुने निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन चनाखो भएर लाग्नुहोस्।”
कुनै दल र उम्मेदवारले मतदातालाई प्रभावित पार्न नगद वा जिन्सी सामान दिएको पाइएमा ठाउँको ठाउँ कारबाही गर्न नेपाल प्रहरीलाई अधिकार सुम्पिएको स्पष्ट गर्दै उनले मतदाता, मतपेटिका र मतगणना कार्यको सुरक्षा गरेर निर्वाचनको निष्ठा जोगाउने कार्यमा सघाउन आग्रह गरे।
“मतदान केन्द्रमा सही मतदाता आएका छन् या अवरोध गर्ने तत्वहरू आएका छन्, त्यसको सूक्ष्म विश्लेषण गर्नुस् । केन्द्रभन्दा बाहिरको वातावरण र सुरक्षाबारे फैलन सक्ने भ्रम चिरेर कोही आत्तिनु पर्दैन”, उनले भने।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला प्रहरी प्रमुखलगायत सहभागी कार्यक्रममा शिक्षालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक सन्दीप भण्डारीले आयोगको निर्देशनबमोजिम निर्वाचनलाई निष्पक्षरूपमा सम्पन्न गराउन प्रहरीले आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिज्ञा व्यक्त गरे।
मतदान अधिकृतहरूलाई निर्देशन
प्रमुख निर्वाचन आयुक्त थपलियाले मङ्सिर ४ गते हुने निर्वाचनलाई प्रचलित कानूनबमोजिम निष्पक्ष बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको भूमिका महत्वपूर्ण हुने बताए।
चितवनका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि यहाँ आयोजित तालिमलाई सम्बोधन गर्दै उनले निर्वाचनमा कसैको प्रलोभन, डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर मतदाताले विवेकको मत हाल्न पाउने वातावरण सिर्जनाका लागि जिम्मेवारीलाई तटस्थ, इमानदार र निष्पक्ष भएर गहनरूपमा महसुस गरेर काम गर्न निर्देशन दिए।