Logo
२ असोज २०८१, बुधबार

उत्कृष्ट पाठकलाई हरेक महिना १० हजार

अक्षरपाटी
२०७९ कात्तिक २६ , शनिबार १२:११ मा प्रकाशित

टीकापुर। कैलालीको टीकापुर सामुदायिक पुस्तकालयमा उत्कृष्ट एक जना पाठकले हरेक महिना १० हजार पुरस्कार पाउने भएका छन्।

पठन संस्कृतिलाई प्रोत्साहित गर्न टीकापुरस्थित सरोकार समूह र पुस्तकालयबीच भएको सहमतिअनुसार पुस्तकालयले यस्तो व्यवस्था गरेको हो।

सरोकार समूहका अध्यक्ष प्रशान्त अर्याल र पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरे।

यो व्यवस्था भएपछि सामुदायिक पुस्तकालयमा गएर अध्ययन गर्नेहरु मध्येबाट प्रत्येक महिना एकजना पाठकले सो पुरस्कार पाउने भएका हुन्।

समूहका अध्यक्ष अर्यालले पछिल्लो समय प्रविधि र स्मार्ट फोनले पढ्ने बानी हट्दै गएको बताए।

‘‘काठमाण्डौदेखि न्यूयोर्कसम्म पढ्ने बानी हराएको र स्मार्ट फोनमा हलुका विषयवस्तु हेर्ने र पढ्ने बानी बसेको छ’’, अर्यालले भने, ‘‘पुस्तकालय आएर गहन विषय अध्ययन गर्न सके असल चरित्र भएको व्यक्तित्व निर्माण हुन्छ।’’

उनले पठन संस्कृति प्रवद्र्धन गर्न शुरुमा एक वर्ष यो कार्यक्रम गरिने र प्रभावकारी भए कार्यक्रम थप गर्ने बताए।

पुस्तकालयमा १० हजार बढी विभिन्न विधाका पुस्तक छन्। अहिले दैनिक ३० देखि ३५ जना नियमित पाठक रहेको बताइएको छ।

०६४ सालमा स्थापना भएको पुस्तकालयमा वाचनालय र बाल कक्षको व्यवस्था छ।

टीकापुर सामुदायिक पुस्तकालय र सरोकार समूहले कार्यविधि बनाएर पुरस्कार वितरण गरिने छ।

एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापा र सरोकार समूह अध्यक्ष अर्यालले रकमको व्यवस्थाबारे आश्वस्त पारेका छन्।