Logo
१२ वैशाख २०८१, बुधबार

ओलीले डोटी पुगेर भने: हार्नका लागि आफ्नो नेतालाई कैलाली झारेर अश्लील बोल्नेलाई टिकट दिए

अक्षरपाटी
२०७९ कात्तिक २६ , शनिबार ०३:११ मा प्रकाशित

डोटी। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले चितवनमा मात्र नभएर अब डोटीमा पनि रुखमा भोट हाल्नबाट कार्यकर्तालाई वञ्चित गरेको बताए। उनले कांग्रेस सुधार्नका लागि पनि एमालेमा भोट हाल्न अपिल गरे।

आज आयोजित चुनावी सभालाई सम्वोधन गर्दै ओलीले भने, ‘आफ्नो नेतालाई हार्नका लागि कैलालीतिर झारेर अश्लील र अराजक बोल्ने व्यक्तिलाई टिकट दिए।’

सत्ता गठबन्धनका तर्फबाट डोटीमा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका एकीकृत समाजवादीका नेता प्रेम आलेप्रति निकै अनुदार देखिएका ओलीले भने, ‘मैले टिकट दिएर जिताएको व्यक्ति प्रेम आलेले डोटीको मात्र नभएर देशकै बेइज्जत गरे। अब कुनै गल्ती नगर्न डोटेली कांग्रेसलाई आह्वान गर्छु।’

सभालाई सम्बोधन गर्दै उनले कांग्रेसका नेतालाई कैलाली झारेर अश्लील बोल्ने तथा पार्टी तथा जनताको विश्वासमाथि घात गर्ने व्यक्तिलाई उम्मेदवार बनाएकाले यसपटक डोटेलीले विचार पुर्‍याउनुपर्ने बताए।