Logo
१६ चैत्र २०८०, शुक्रबार

देशको समृद्धिका लागि गठबन्धन आवश्यक छ, १५ वर्ष रहन्छ : प्रधानमन्त्री देउवा

अक्षरपाटी
२०७९ कात्तिक २६ , शनिबार ०८:११ मा प्रकाशित

चितवन। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थायी शान्ति र विकासका लागि लोकतान्त्रिक–वाम गठबन्धनले निर्वाचन जित्नुपर्ने बताए। उनले यो गठबन्धन अझै दुई÷तीन निर्वाचनसम्म रहने बताए।

लोकतान्त्रिक–वाम गठबन्धन चितवनले आज यहाँ आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले राष्ट्रमा स्थायी शान्ति र विकास गरेर देशलाई धनी बनाउन गठबन्धनले जित्नुपर्ने विचार राखे।

राष्ट्रिय एकता स्थापित गरेर सम्पूर्ण नेपालीलाई एक बनाउनुपर्नेमा जोड दिँदै उनले भने, ‘आफ्नै देशमा उद्योग खोलेर जलस्रोतको विकास गरेर नेपाललाई सम्पन्न बनाउनुपर्छ। नेपालभित्रै रोजगारी सिर्जना गरी कोही पनि विदेश जानु नपरोस् भन्ने चाहना मेरो छ।’

ठूलो संघर्षबाट प्राप्त भएको गणतन्त्र स्थायी रुपमा स्थापित गर्न र संघीय शासन व्यवस्था, समावेशिता, हिमाल, पहाड मधेससहित मेचीमहाकालीसम्मको भूभागलाई एक बनाएर लैजाने आफ्नो प्रयास रहेको उनले बताए।

प्रधानमन्त्री देउवाले भने, ‘यसलाई अझबढी एकताबद्ध बनाउने भन्ने हो, दुई÷तीन निर्वाचनसम्म गठबन्धन रहन्छ।’ यसैका लागि अहिले गठबन्धनको सरकार रहेको र भोलि पनि हुनुपर्ने उनले बताए।

स्थानीय तहको निर्वाचनमा यहाँबाट विजयको सुरुआत भएको भन्दै प्रधानमन्त्री देउवाले प्रदेश र सङ्घकको निर्वाचनमा पनि विजयीको सुरुआत चितवनबाटै होस् भनेर आफू यहाँ आएको बताए। विजयीको जस पनि चितवनका जनताले लिन पाउने उनले बताए।

कार्यक्रममा कांग्रेस चितवनका पूर्वसभापति विकास कोइरालाको कारबाही फिर्ता गर्न माग गर्दै ज्ञापनपत्र पेश गरेपछि पार्टी सभापतिसमेत रहनुभएका देउवाले निर्वाचन जिताएपछि कारबाही फिर्ता गर्ने आश्वासन दिए।

सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू चुनाव लड्न गोरखा गए पनि यहीँको बासिन्दा भएको नभुल्न आग्रह गरे। कार्यक्रममा गठबन्धनका नेता माधवकुमार नेपाल, बाबुराम भट्टराईलगायतले सम्बोधन गरेका थिए।