Logo
१६ चैत्र २०८०, शुक्रबार

आरक्ष पीडित भन्छन् : आश्वासन मात्रै पायौं, जग्गा पाएनौं

अक्षरपाटी
२०७९ कात्तिक २७ , आईतबार ०३:११ मा प्रकाशित

कञ्चनपु। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (तत्कालीन आरक्ष) बाट विस्थापित भएकाहरुको समस्या सँधैको चुनावमा मुद्दा बन्ने गर्छ।

विस्थापित परिवारको व्यवस्थापन गर्ने हरेक चुनावमा भनिन्छ । आरक्ष विस्थापित परिवारले चुनावका बेला समस्या समाधान गर्ने आश्वासन पाएको धेरै भयो, तर व्यवस्था भने भएको छैन।

०७४ को निर्वाचन र गत स्थानीय निर्वाचनको बेला पनि दलहरुका प्रमुख एजेन्डा आरक्ष पीडितका समस्या समाधान गर्ने नै थियो।

भीमदत्त नगरपालिका–१६ का आरक्ष विस्थापित सुरेन्द्रबहादुर कोटारीले दलहरुले निर्वाचनको बेला मात्रै आश्वासन दिने गरेको गुनासो गरे।

“चुनाव आउने बेला मात्रै नेताहरुलाई आरक्ष पीडितको सम्झना गर्छन”, उनले भने, “जितेर गएपछि होस् वा चुनाव सकिएपछि हार्नेहरुले पनि फर्केर सम्झिएका छैनन्।”

उनले चुनावमा निर्वाचित भएर गएपछि निर्वाचनका बेला गरिने वाचा भुल्ने गरेको सुनाए।

“चुनाव जितेर गएपछि हामीले सम्झाउँदा पनि हुन्छ, हुन्छ मात्रै भन्छन् काम हुँदैन”, उनले भने, “जब चुनाव आउँछ त्यसपछि हामी गर्छौँ भनेर वाचा गर्न आइपुग्छन्।”

बेदकोट नगरपालिका–१ का रमेश भट्टले पनि आरक्ष पीडितका समस्या चुनावका बेला मात्रै उजागर हुने बताए।

“अहिलेसम्म आरक्ष पीडितका समस्या समाधानका लागि ३१ आयोग बनेका छन्”, उनले भने, “नेताहरुले चुनाव जित्ने र आफ्ना मान्छे आयोगमा भर्ना गर्ने बाहेक हाम्रो व्यवस्थाको काम कहिले भएन।”

यसपटक चुनावमा होमिएका दलका उम्मेदवार भने आरक्ष पीडितका समस्या एक÷दुई वर्षभित्रै समाधान गरीछाड्ने वाचा गर्छन।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कञ्चनपुर २ का उम्मेदवार एनपी साउँदले आरक्ष पीडितका समस्या एक वर्षभित्र समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।

“आरक्षपीडित जनताको बसोबास र मुआब्जाको व्यवस्था गर्ने मेरो पहिलो काम हुनेछ”, उनले भने, “वास्तविक आरक्ष पीडितको पहिचान गरी छिट्टै विस्थापित परिवारको व्यवस्थापन गर्छु”, उनले शिविरको एकीकृत विकास र परियोजना सुरु गरेर काम थाल्ने पनि बताए।

एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नरबहादुर धामीले विस्थापितको व्यवस्थापन गर्ने काम अघिल्लो सरकारका पालामा धेरै अगाडि बढिसकेको दाबी गरे।

“यहाँ शुक्लाफाँटा आरक्ष पीडितको व्यवस्थापन हुन सकेको छैन। एक हजार ४८० परिवारका मान्छे १४ वटा शिविरमा बसेका छन्”, उनले भने, “केपी ओली नेतृत्वको सरकारले कार्यदल बनाएर यसको काम धेरै अगाडि बढाएको छ।”

उनले आफ्नो सरकार भएको बेला सुकुम्बासीको व्यवस्थापनका लागि कार्यदलले प्रतिपरिवार १० कठ्ठा जग्गा वा कम्तिमा ६० लाख प्रतिपरिवार दिने भनेर प्रतिवेदन मन्त्रालयमा दिएको बताए।

एमालेका नेता एवं कञ्चनपुर क्षेत्र नम्बर २ क का प्रदेशसभा सदस्य उम्मेदवार वचनबहादुर सिंहले आरक्षपीडित, भूमिहीन र अव्यवस्थित बसोबासी तथा आवासविहीनका नाममा यो चुनावपछि भोट माग्न नपाउने अवस्था ल्याइने प्रतिबद्धता व्यक्त गरे।

आरक्ष पीडित