Logo
१४ वैशाख २०८१, शुक्रबार

‘कोप २७’ : भोकमरी मुद्दाले प्राथमिकता पाएन

अक्षरपाटी
२०७९ कात्तिक २७ , आईतबार १२:११ मा प्रकाशित

एजेन्सी। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७) मा खाद्य संकटको मुद्दाले अपेक्षाकृत प्राथमिकता नपाएको देखिएको छ।

अफ्रिकी मुलुक इजिप्टमा भइरहेको यस सम्मेलनलाई अफ्रिकी कोपसमेत मानिन्छ। सम्मेलनका हालसम्मका कार्यक्रम र छलफलमा उठेका विषयवस्तु हेर्दा यस महादेशका मुख्य मुद्दा जलवायु परिवर्तनका कारण उत्पन्न खाद्य सङ्कट, भोकमरी र खडेरीजस्ता विषयले आशा गरेअनुसार प्राथमिकता पाउन सकेको छैन।

यी विषयले प्राविधिकरूपमा महत्व पाए पनि र सम्मेलनको उच्चस्तरीय सत्रमा राजनीतिकरूपमा कुरा उठे पनि औपचारिक एजेण्डा बन्न नसकेको सम्मेलनमा सहभागी ‘वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्’ सदस्य डा विमलराज रेग्मीले जानकारी दिए।

यी विषयमा विश्व खाद्य तथा कृषि सङ्गठनको पहलमा विभिन्न छलफल गरिएको छ।

यद्यपि अफ्रिकी महादेशमा भइरहेको सम्मेलनमा पनि यी विषयलाई औपचारिक एजेण्डा बनाउन नसक्नु दुर्भाग्य भएको बताउँदै उनले आगामी सम्मेलनमा औपचारिक एजेण्डा बन्ने अपेक्षा गरे।

जलवायुमा देखिएका परिवर्तनशीलता जस्तैः अतिवृष्टि, अनावृष्टि, खडेरी, पहिरो र बाढीका कारण नेपालमा कृषि उत्पादन, पशुपालन र मत्स्यपालनमा १० देखि ३० प्रतिशतसम्म उत्पादनमा ह्रास आएको पाइएको जनाइएको छ।

सम्मेलनमा सहभागी राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले जलवायु परिवर्तनका कारणले विश्वमा नै खाद्य प्रणालीमा परेको संकटको विषयलाई सम्मेलनमा प्राथमिकताका साथ उठनुपर्ने बताए।

‘डिसिए’का जलवायु कार्य सल्लाहकार राजन थापाले सम्मेलनको सुरुआती चरण हेर्दा खाद्य सङ्कटको विषय जबर्जस्त आउनुपर्ने अपेक्षा रहेको भए पनि अफ्रिकी मुुलुकले यसअघि उठाएर जसरी यो विषय उठाएको नदेखिएको बताए।

सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादवले जलवायु परिवर्तनले विश्वव्यापीरूपमा नै खाद्य संकट बढाएको उल्लेख गर्दै यसको समाधानका लागि न्यूनीकरणमा नै जानुपर्ने बताए।

कोप २७