Logo
८ वैशाख २०८१, शनिबार

गगन थापाको समर्थनमा शर्माको ‘बञ्जिजम्प’

अक्षरपाटी
२०७९ कात्तिक २७ , आईतबार १०:११ मा प्रकाशित

कुस्मा । नेपाली काँग्रेसका महामन्त्री तथा काठमाडौं ४ मा प्रतिनिधिसभा उम्मेदवार गगन थापालाई जिताउनुपर्ने सन्देश प्रवाह गर्दै बाग्लुङका एक युवाले बञ्जिबाट हाम फालेका छन्।

भावी प्रधानमन्त्रीका रुपमा समेत आफूलाई घोषणा गर्दै चुनावमा होमिएका थापाको समर्थनमा बाग्लुङ – ४ नारायणस्थानका ३५ वर्षीय सुमन शर्माले विश्वको दोस्रो अग्लो बञ्जिबाट हाम फालेका हुन्।

‘भोट फर गगन थापा’ भन्दै हातमा प्लेटकार्ड बोकेर उनले बञ्जिजम्प गरेका हुन्।

कालीगण्डकी नदीमाथि दुई सय २८ मिटर उचाइँबाट हाम फालेको कार्यक्रमका संयोजनकर्ता पवन आचार्यले जानकारी दिए।

शर्माले हाम फाल्ने क्रममा ‘जेन जी, जेनेरेसन गगन, विइ आर जेनेरेसन गगन, अबको पालो गगनको’ भन्ने सन्देश प्रवाह गरेका थिए। उनले हाम फालेको भिडियो सामाजिक सञ्जालमा राखिएको छ।

वर्तमान प्रधानमन्त्री तथा आफ्नै पार्टीका सभापति शेरबहादुर देउवासहितका शीर्ष र प्रभावशाली नेताहरुलाई चुनौती दिँदै प्रधानमन्त्री बन्ने अठोट गर्नु आफैमा राजनीतिक साहस भएकाले सहासपूर्ण प्रयासको समर्थनमा आफूले साहसिक खेल बञ्जिजम्प गरेको शर्माको भनाइ छ।

प्रतिनिधि सभा निर्वाचन अगाडि प्रधानमन्त्रीको उम्मेदवारी घोषणा गर्दा शीर्ष नेताहरुले राजनीतिलाई नै धक्का पुर्याउने खतरा मोल्दै निर्वाचनमा होमिएर महामन्त्री थापाले आफूहरुलाई आशावादी र प्रोत्साहित गराएको शर्माले बताए।

महामन्त्री थापालाई नेपालको प्रधानमन्त्री बनाउनुपर्ने सन्देश प्रवाह गर्न यसअघि एसियाकै लामो भनेर दाबी गरिएको बाग्लुङ–पर्वत जोड्ने झोलुंगे पुल, पेरिसमा रहेको आइफल टावर, अस्ट्रेलिया, साइप्रसलगायत देशमा पनि युवाहरुले प्रदर्शन गरेका थिए।

गगन थापा बञ्जिजम्प