Logo
८ वैशाख २०८१, शनिबार

झापा ३ : सिटौला र लिङदेनलाई घण्टीको कडा चुनौती

अक्षरपाटी
२०७९ कात्तिक २८ , सोमबार ११:११ मा प्रकाशित

झापा। मुलुकमा यतिबेला चुनावी रौनक छ । नाम चलेका र स्थापित नेतादेखि नयाँ अनुहार यसपटकको निर्वाचनमा होमिएका छन्।

दलहरुमाथि जनताको विश्वास गुम्दै गएका बेला देशैभरका मतदाताले नयाँ र युवा उमेद्वारप्रति सहानुभूति दर्शाउन थालेका छन्। पुराना दल र तीनका नेताको प्रवृती तथा स्वार्थका लागि बनेका दलीय समिकरणका कारण नागरिकमा असन्तुष्टि चुलिएको छ।

यस्तै अवस्था झापा ३ मा पनि देखिएको छ। अघिल्लो पटकको निर्वाचनमा एमालेको साथ पाएर चुनाव जितेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले मात्र होइन भर्खरै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार प्रकाश पाठकले पनि चुनौती दिने भएका छन्।

३४ वर्षीय पाठकप्रति युवाको आकर्षण बढ्दो देखिएपछि झापा ३ को चुनावी रौनक थप रोमाञ्चक बन्ने भएको छ। गठबन्धनभित्रै देखिएको असन्तुष्टि तथा बलिया मानिएका नेताहरुको गिर्दो छवीका कारण झापा तीनका मतदाताले घण्टीलाई विकल्पका रुपमा हेरेका छन्।

अक्षरपाटी टिमले सो क्षेत्रका मतदातामाझ गरेको सर्वेक्षणमा झापा तीनमा त्रिपक्षीय भिडन्त देखिएको हो। सो क्षेत्रका बिभिन्न क्षेत्रका ५६० मतदातामाझ गरिएको सर्वेक्षणमा १५६ जनाले राप्रपालाई मत दिने बताए।

सिटौलालाई मत दिने बताउनेको संख्या १४२ रहँदा घण्टीबाहाक उमेद्वार पाठकलाई १३८ जनाले मत हाल्ने बताए।

सर्वेक्षण्का क्रममा ५२ जनाले आफ्नो मत कसलाई जान्छ भन्ने खुलाउन चाहेनन्। अन्य ७२ जनाले बिभिन्न दलका अन्य उम्मेदवारलाई दिने उल्लेख गरे।

भद्रपुरको एकदेखि आठ नम्बर वडा, हल्दिबारी गाउँपालिका, बाह्रदशी गाउँपालिका, कचनकवल गाउँपालिका र बिर्तामोड नगरपालिकाको १० नम्बर वडा यो निर्वाचन क्षेत्रमा पर्छ।

राप्रपा र कांग्रेशबीचको लडाइँमा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थितिले झापा ३ मा चुनावी सरगर्मी रोचक बनाएको छ। राप्रपालाई सघाएको एमालेभित्रको असन्तुष्टिले पनि यस क्षेत्रको नतिजामा प्रभाव पार्ने कारणका रुपमा देखिएको छ।