Logo
८ वैशाख २०८१, शनिबार

दलित बस्तीमा भोट तान्न तछाडमछाड

अक्षरपाटी
२०७९ कात्तिक २८ , सोमबार ०४:११ मा प्रकाशित

रेसुंगा । गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्लाकी डल्ली विक उमेरले ७१ वर्ष पुगे। उनी प्रत्येक निर्वाचनमा मतदाताका रूपमा साक्षी हुन्छन्।

निर्वाचनका समयमा आफ्नो बस्तीमा लाग्ने भोजभतेरको अनुभव उनीसँग छ। वाग्लाको दलित बस्तीमा लाग्ने भोजभतेर कुनै मेलापर्व र उत्सव नभई निर्वाचनका लागि भोट तान्नका लागि भएको हो।

भोट तान्ने होडबाजीले चामलको बोरा बाँड्ने र भोजभतेर गर्ने गरेको स्थानीयवासी डल्ली बिकले बताए। ‘निर्वाचनका समयमा भोट तान्न हाम्रो बस्तीमा भोजभतेर लाग्छ अनि टाठाबाठाले चामलको बोरा पनि घर लैजान्छन्’, उनले भने, ‘हामी एक्लै भएकाहरूलाई त्यो पनि दिँदैनन्।’

उनका अनुसार यस बस्तीमा कसले नगद बढी दिने वा भोजभतेर लगाएर भोट भनेर पार्टीको होडबाजी चल्ने गर्दछ।

वाग्लाको सोही बस्तीका ४९ वर्षीय टेकबहादुर सुनार पनि स्थानीय नेता तथा कार्यकर्ताहरूले आफूहरू माथि दमन गरेको बताउछन् । आफ्नो बस्तीलाई तल्लो वर्गका रूपमा हेरेर कुनै विकासे योजना नभई सामान्य नगद र जिन्सी बोकेर छिर्ने गरेको उनले गुनासो गरे।

‘अघिल्लो निर्वाचनमा प्रतिघर एक बोराका दरले चामल बाँडेर नेताहरू चुनाव जितेपछि फर्किएनन्’, उनले भने, ‘हाम्रो बस्तीमा रहेको गरिबी, अशिक्षा र अभावलाई माथिल्लो वर्गका केही व्यक्तिले फाइदा उठाइरहेका छन्।’

सोही बस्तीका ६४ वर्षीय एकल महिला झुवी विक घरमा एक्लै छन्। छोराबुहारी रोजगारीका लागि भारत गएपछि उनी एक्लै बस्न बाध्य भएकी हुन।

उनको एकलपनलाई राजनीतिक दलले फाइदाका रूपमा लिएको झुवी विकले गुनासो गरे। ‘यहाँ त सधैँ निर्वाचनमा नगद र चामल बाँडेर भोट तान्ने गर्छन्’, उनले भने, ‘मलाई त एकल भनेर नगद र चामल केही दिएनन्।’

छिमेकीलाई भनेर भोट हाल्न लगाउने तर अरुलाई दिने सामग्री आफूलाई नदिने गरेको उनको गुनासो छ। सोही बस्तीका सावित्रा विकले पनि राजनीतिक दलले कुनै विकासको योजना ल्याउने नभई भोट तान्नेतर्फ केन्द्रित भएको आरोप लगाए।

वाग्लाको यस बस्तीमा एक सय ५० दलित घरधुरीमा झण्डै छ सय मतदाता छन्। आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि मतदान गर्न एक साता मात्र बाँकी भए पनि कुनै दल वा दलका नेता तथा कार्यकर्ता घरदैलोमा नआएको स्थानीयहरू बताउँछन्।

राजनीतिक दलहरू वाग्लाको दलित बस्तीमा कसले बढी प्रभाव पार्न सक्छ भन्ने होडबाजीमा हुन्छन्। स्थानीयवासीका अनुसार मतदानको दुई÷तीन दिनअघि मात्र यस बस्तीमा स्थानीय नेता कार्यकर्ता प्रवेशका लागि प्रतिस्पर्धा गर्दछन्।

पाँच सय मिटर सडक पनि बनेन

वाग्लाको सोही बस्तीका अगुवा स्थानीयवासी गणेश विकले आफ्नो बस्तीमा पाँच सय मिटर बाटो पनि नबन्दा निकै सास्ती खेप्नु परेको बताए। चुनावको मुखमा आश्वासन दिने अनि भोट भोजभतेरमै तान्ने त्यसपछि बेवास्ता गर्ने गरेको उनले सुनाए।

विसं २०५६ मा ट्र्याक खोले पनि बस्तीबीचको पाँच सय मिटर सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने समस्याले आफूहरूलाई सास्ती पुगेको उनको गुनासो छ।