Logo
१३ वैशाख २०८१, बिहीबार

कर्णालीमा निर्वाचन सुरक्षाः ग्यास सिलिन्डर र प्रेसर कुकर ओसारपसारमा पनि रोक

अक्षरपाटी
२०७९ कात्तिक २८ , सोमबार १०:११ मा प्रकाशित

सुर्खेत। मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशभर १४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

निर्वाचनलाई दृष्टिगत गर्दै प्रदेशमा १४ हजार आठ सय सात जना सुरक्षा जनशक्ति परिचालन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक एवं प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन मतदानस्थलमा पाँच हजार सात सय २९ जना नेपाल प्रहरी र नौ हजार ७८ जना म्यादी प्रहरी गरी १४ हजार आठ सय सात जना सुरक्षाकर्मी खटाइएको हो।

मदिरा बिक्री वितरणमा रोक

जिल्ला प्रशासन कार्यालयले मङ्सिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचालाई मध्यनजर गर्दै मदिरा बिक्री वितरणमा रोक लगाएका छन्।

आफ्नो आफ्नो जिल्लाको शान्ति सुरक्षा कायम गर्नको लागि मदिरा बिक्री वितरणमा रोग लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएका छन्।

सुर्खेतमा पनि शुक्रबारदेखि मदिरा बिक्री वितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

यही कात्तिक २५ गतेदेखि लागू हुने गरी निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्यलाई पूर्णरुपमा रोक लगाउने निर्णय गरेको उनले जानकारी दिए।

यस्तै मतदान कार्य सुरु हुनु २४ घण्टा अगाडिदेखि ग्यास सिलिण्डर, पाइप, सकेट, प्रेसर कुकुरजस्ता विस्फोटनमा प्रयोग हुनसक्ने सामग्रीको ओसारपसार तथा बिक्री वितरणमा समेत रोक लगाउने निर्णय भएको प्रजिअ रिजालले जानकारी दिए।- सांकेतिक तस्वीर

निर्वाचन सुरक्षा