Logo
१६ चैत्र २०८०, शुक्रबार

हाते ट्र्याक्टरले पहाडमा पनि गोरु विस्थापित, तर उत्पादन कम

अक्षरपाटी
२०७९ कात्तिक २८ , सोमबार ०३:११ मा प्रकाशित

बझाङ। खप्तडछान्ना गाउँपालिका–५ का भरत गिरीलाई अहिले हलो समात्नै झमेला लाग्छ। उनले हलो नसमात्ने अडान नै लिएका छन्।

गोरु जोतेर ढाड दुखाउनुभन्दा एकै छिनमा ट्र्याक्टर जोतेर घर फर्कनु आनन्द भएको उनले बताए।

“कसैले पणिमा मागे पनि बरु सित्तैमा ट्र्याक्टर लगाइदिन्छु तर, हलो समात्न भने मनै लाग्दैन”, उनले भने, “गोरु जोतेरै बूढो भइसकेँ। मेरै घरमा दर्जनभन्दा बढी हल गोरु फेरबदल भए तर, कहिल्यै समयमा काम सकिएन। न त सोचेजस्तो काममा रहर नै लाग्यो। अहिले ट्र्याक्टरले धेरै सजिलो भएको छ।”

उनका अनुसार अहिले हाते ट्र्याक्टरले १० दिनमा हुने काम एकै दिनमा हुने गर्छ। छिटो पनि हुने, सजिलो पनि हुने हुँदा अहिले कृषकका लागि ट्र्याक्टर नै विकल्प भएको उनी बताउँछन्।

तीन वर्षअघि जयपृथ्वी नगरपालिका–९ का यादवी जोशीको घरमा भर्खर किनेका एक हल गोरु थिए। चरिचराउन गर्न वन नभएको हुँदा उहाँ असार र मङ्सिरबाहेक बाँकी समय पल्लो गाउँ चरिचराउनका लागि पु¥याउँथे।

उनको घरमा गोरु भएपछि छिमेकीले समेत खेत जोत्ने मौका पाउँथे। घरमा ल्याएपछि दुई महिना गोरु दैनिकजसो जोतिन्थ्यो। पानी नलाग्ने ठाउँमा त कहिल्यै महिनासमेत कुर्नुपर्दथ्यो। गोरु जोत्ने बेलामा ठूला खेतमा त दुई हल गोरुसहित दुई दर्जनभन्दा बढी खेतालाको काम हुन्थ्यो।

गत मङ्सिरमा एक जना आफन्तले हाते ट्र्याक्टर किनेर ल्याए। यसले उनले आफ्नो खेती मात्रै नभई तीन÷चार जना छिमेकीकै खेती बनाए । त्यो देखेर उनको परिवारले पनि गोरुको ठाउँमा ट्र्याक्टर नै राख्ने सोच बनायो।

किनेका गोरु बिक्री गर्न खोजे पनि किन्ने मान्छे नै भेटिएनन् । पछि अर्कै पालिकाका मान्छेलाई उनको परिवारले सित्तैमा एक हल गोरु दिए।

जयपृथ्वी नगरपालिका–९ पिठालेखकी सीता थापाले पनि तीन वर्ष अगाडि हाते ट्र्याक्टर किने। गोठमा भएका गोरुलाई बेचेर कृषिको अनुदानसहित ७० हजारमा ट्र्याक्टर भित्र्याए।

रोपाइँ गर्न महिनाभरि लाग्ने खेतमा ट्र्याक्टरपछि हप्ता दिनमै सकिन थाल्यो। उनी सुरू–सुरूमा आफ्नो मात्रै नभएर छिमेकीको खेतमा मद्दत गर्न थाले।

पछि डिजेलको मूल्य बढ्दै जाँदा ट्र्याक्टर भाडामा समेत प्रयोग गर्न थालेको उनी बताउँछन्। ट्र्याक्टरमा डिजेल भर्ने तथा केही रकम लिएर छिमेकीको खेत जोत्ने गरेको उनले सुनाउनुभयो ।

‘ट्र्याक्टरले उत्पादन घटायो’

हाते ट्र्याक्टरको प्रयोगपछि हलोको भन्दा बढी उत्पादन घटेको कृषक बताउँछन्। देवलकी कृषक लक्ष्मी जोशीले भन्छिन, “हाम्रो खेतमा ट्र्याक्टर चलाएको तीन वर्ष भयो। तीनै वर्ष धान उत्पादनमा कमी आयो । गहुँ पनि उत्पादन घटेको छ।”

उनले आफ्नो खेतमा तीन कट्ठा गहुँ हुने ठाउँमा अढाइ कट्ठा मात्रै गहुँ उत्पादन भएको सुनाइन्।

“ट्र्याक्टरले गहिरो नभएर हो कि के हो। गोरुले जोतेअनुसारको गहुँ हुँदैन”, खप्तडछान्ना गाउँपालिका–५ कि कविता हमालले भनिन्, “धान भने पहिलेकै जति उत्पादन भइरहेको छ। गहुँमा भने अघिल्ला वर्षहरूको भन्दा उत्पादन केही घट्यो।”

उनले हलोले जोतेमा गहिरो हुने र ट्र्याक्टरले जोतेमा मथलो (कम गहिरो) हुने हुँदा उत्पादनमा केही कमी भएको बताइन्। उनले भनिन् “हलोले गहिरो खनेर मलभित्र जाने र ट्र्याक्टरले मथलो खनेर गोठे मल सुकेर जाने हुँदा उत्पादनमा कमी आएको हामीले अनुमान गरेका छौँ।” –फाइल तस्वीर

बझाङ हाते ट्र्याक्टर