Logo
१३ वैशाख २०८१, बिहीबार

कञ्चनपुर २ : गठबन्धन र एमालेबीच प्रतिस्पर्धा, साउदलाई सहज

अक्षरपाटी
२०७९ कात्तिक २९ , मंगलबार ०३:११ मा प्रकाशित

कञ्चनपुर, २९ कार्तिक।  मुलुकमा चुनावी रौनक छ । उम्मेदवारहरु भोट माग्न घरघर पुगिरहेका छन्। प्रचारप्रसारको अवधि पनि अब ३ दिन मात्रै बाँकी छ ।

त्यसैगरी कञ्चनपुर २ मा पनि पूर्वमन्त्री र स्थापित नेता निर्वाचनमा होमिएका छन्।

दलहरुले जनताको पीरमर्का नबुझेको, जनताभन्दा नेता निर्देशित भएको, अडान र भिजनभन्दा शीर्षको फेरो समातेर नेता बनिरहेको आरोप लागे पनि अन्तिममा भने मतदाताले मैदानमा भएका उम्मेदवारमध्य एकलाई रोज्नैपर्ने मनसाय बनाएको देखिन्छ।

हुन त देशैभर चलेको नो नट अगेनको असर प्राय क्षेत्रमा नभएको होइन।

यतिबेला कञ्चनपुर २ का सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार एनपी साउँद र एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नरबहादुर धामी मैदानमा छन्।

धामी ०७४ को निर्वाचनमा झण्डै ८ हजारभन्दा बढी मतले साउदलाई हराउँदै विजयी भएका थिए। मन्त्री बनिसकेका साउदले त्यसबेला २४ हजार ८ सय ९३ मत ल्याएका थिए भने माओवादीसँग तालमेल गरेर चुनाव लडेका धामीले ३३ हजार २ सय २० मत पाएका थिए।

अहिले गठबन्धनको अवस्था फेरिएको छ, हिँजो धामीलाई साथ दिने शक्ति यसपटक साउदको पक्षमा छ।

त्यो मात्र होइन प्रतिनिधि सभामा जितेर जति जनताका काम धामीले गरे त्यो भन्दा बढी विकास निर्माणदेखि जनताका पीरमर्कामा साउदले साथ दिएको बुझाइ यहाँका मतदाताको छ।

तर सँधैको समस्याका रुपमा रहेको आरक्षपीडितको समस्या भने दुबै नेताले सम्बोधन गर्न नसकिरहेका बेला धामीले आफ्नो सरकारको कार्यकालमा फाइल अगाडि बढाएको बताउँदै आएका छन्।

यही सेरोफेरोमा अक्षरपाटी टिमले यहाँको चुनावी मन बुझ्ने प्रयत्न गरेको थियो। हामीले यहाँका ४ सय ४० जना मतदातामाझ गरेको सर्वेक्षणमा साउदको पल्ला भारी देखिन्छ।

चिया पसले, किसान, वौद्धिक वर्ग, आरक्षपीडित, शिक्षक, कर्मचारी, व्यवसायी र वैदेशिक रोजगारीमा जानेआउनेहरुको मत बुझ्ने प्रयास गर्दा १ सय ४४ जना साउदको पक्षमा छन्।

साउदको पक्षमा रहेका मतदाताहरुको आ आफ्नै तर्क छ। कतिपयले उनी मन्त्री भएकाले अनुभवी नेताले विकास निर्माणमा चाडो काम गर्नसक्ने बुझाइ छ। कतिपय भने उनी हारेर जाँदा पनि यहाँका समस्या र विकाससँग जोडिरहेको जस मानेका छन्।

केही सुकुम्वासी, अपांगता भएका र आरक्ष पीडित भने साउदको राजनीतिक यात्रालाई सघाउँदै आएकी उनकी धर्मपत्नी ज्योत्सना साउदबाट प्रभावित छन्। रुडुक नामक गैह्र सरकारी सँस्था र हिन्दू महासंघको सचिव रहेकी साउँदले यस क्षेत्रमा गौशाला सञ्चालन, आरक्ष पीडित, सुकुम्बासीलाई राहत वितरण, कोभिडमा गरेको सहयोग र अपांगता भएका व्यक्तिलाई गरेको सहयोगबाट पनि यहाँका मतदाता गुन तिर्ने मनस्थितिमा छन्।

सर्वेक्षणका क्रममा एमालेका नरबहादर धामीलाई मत दिन्छु भन्नेको संख्या १ सय २२ जना छ। उनले आफ्नो कार्यकालमा आरक्ष पीडितदेखि केही विकास निर्माणका काम सुरु गरेकाले त्यसलाई उनी आएमा पुरा गर्छन भन्ने विश्वास उनीहरुको छ।

त्यस्तै ७८ जना मतदाता भने कसलाई मत दिने भन्नेबारे खुल्न चाहेनन्। ४८ जना मतदाताले भने आफूहरुका समस्या समाधान गर्नेलाई र थारुका समस्या सम्बोधन गर्ने उम्मेदवारलाई मात्र भोट दिने भने । तर उनीहरुले कसलाई दिने भन्नेबारे नाम लिन चाहेनन्।

सर्वेक्षणमा सामेल ५२ जना मतदाताले भने अन्य दलका उम्मेदवारलाई भोट दिने बताए। यसरी हेर्दा कञ्चनपुर २ मा आफ्ना समस्या समाधान गर्छौँ भन्नेलाई भोट दिन्छौँ भन्ने मतदाताहरु नै दुबै उम्मेदवारका लागि चुनौतिका रुपमा देखिएको छ।

कञ्चनपुर २ मा तीनवटा नगरपालिका ३० वडा पर्दछन्। मुक्त कमैया, मुक्त हलिया र आरक्ष पीडितका समस्या वर्षौँदेखिका हुन्। यो निर्वाचनमा १ लाख पाँच हजार पाँच सय ५७ मतदाता छन्।

एनपी साउद कञ्चनपुर नरबहादुर धामी