Logo
१६ चैत्र २०८०, शुक्रबार

झापा १ : विश्वप्रकाशको प्रभाव कि, अग्नी खरेलको प्रयास ?

अक्षरपाटी
२०७९ कात्तिक ३० , बुधबार ०४:११ मा प्रकाशित

झापा। देशभर युवापुस्ता रुचाउनेको संख्या बढ्दै गएको छ। झापा क्षेत्र नं १ ले यतिबेला मुलुककै ध्यान खिचेको छ।

आगामी मङ्सिर ४ गते निर्वाचनमा झापाले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका दुई ‘हेवीवेट’ पाएको छ। यी दुई नेताबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ।

चुनावलाई आफ्नो पक्षमा पार्न उनीहरु अहोरात्र खटिएका छन्। कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा मैदानमा छन्।

कांग्रेसको महामन्त्री, मृदुभाषी, युवा तथा साहित्यिक भन भएका शर्माको प्रभाव कस्तो रहन्छ ? मंसिर ४ को निर्वाचनले देखाउने छ। उनले यसलाई प्रतिस्पर्धा नभएर गठबन्धनको उत्सवका रुपमा लिएका छन्।

एमाले–राप्रपा तालमेलका तर्फबाट अग्नि खरेल उम्मेदवार बनेका छन्। उनी पनि राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने नेताका रुपमा चिनिन्छन्।

उनीहरुसहित यो क्षेत्रमा १५ जनाको उम्मेदवारी परेको छ। ती मध्ये तीन जना स्वतन्त्र उम्मेदवार हुन। शर्मा र खरेलका लागि यी १५ उम्मेदवार सकसका रुपमा उभिएका छन्।

दोस्रो संविधानसभा निर्वाचन ०७० मा एमालेका रविन कोइराला र ०७४ को संसदीय चुनावमा माओवादी केन्द्रका राम कार्कीसँग पराजय भोगेका शर्मा त्यसालाई अनुभवका रुपमा व्याख्या गर्दै तेस्रोपटक चुनावी मैदानमा छन्।

एमाले स्थायी कमिटी सदस्य खरेल आफ्नो गृहक्षेत्र झापा–२ भए पनि झापा १ मा भविश्य खोज्दैछन्। संसद् छिर्ने प्रयासलाई उनी यहीँबाट मूर्तरुप दिन जनताको ‘म्याण्डेड’का लागि लागेका छन्।

महामन्त्री शर्मा सुकुम्बासी समस्या समाधान, पुल निर्माण, नदी कटान नियन्त्रण, पर्यटकीय केन्द्रका स्तरीकरण, झापा–१ जोड्ने रिङरोड निर्माणलगायतका स्थानीय विकास र चासोको विषयलाई समेट्ने मतदातासमक्ष प्रतिबद्धता गरिरहेका छन्।

“जनताले स–साना कुरा खोजिरहेका छन्”, उनले भने, “निकै साना समस्या, जो दैनिक जीवनसँग जोडिएका छन्, त्यसैले हामी गर्न सक्ने कुरामात्र गर्छौँ, नसक्ने कुराको हामी सपना बाँड्न आएको छैनौँ।”

पदमा नरहँदा पनि झापा १ को सडक निर्माण, सामाजिक रुपान्तरण, स्वास्थ्य सेवालगायतका क्षेत्रमा काम गरेको शर्माको दाबी छ। संविधानको रक्षा, लोकतान्त्रिक शासन पद्धतिको विकास र राजनीतिमा परिवर्तनका लागि गठबन्धन आवश्यक रहेको उल्लेख गर्दै शर्माले गठबन्धनका उम्मेदवारलाई जिताएर जनताको समृद्धिका लागि काम गर्ने अवसर दिन अपिल गरेका छन्।

एमाले–राप्रपा तालमेलका उम्मेदवार खरेलले आफू जहिले पनि विकास र निर्माणको संसदीय प्रक्रियामा आफू गाँसिएको बताउँछन्। “जनताको समस्या मेरो समस्या हो”, उनले भने, “मैले ती समस्या बुझेको छु।”

मेची, निन्दा, हडियाखोलमा बर्सेनि आउने बाढीले त्यहाँका स्थानीय समस्यामा पर्ने भएकाले तटबन्धन निर्माण गर्न आफू प्रतिबद्ध रहेको खरेलको भनाइ छ।

हात्ती समस्या नियन्त्रणका लागि प्रभावकारी कार्य गर्ने उनले बताए। ।”

शर्मा र खरेल दुवैले स्थानीय अवस्था, आवश्यकता र केन्द्रीय घोषणापत्रलाई आधार बनाएर प्रतिबद्धता जनाइरहेका छन्।

दुवै उम्मेदवारले आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहे पनि परिणाम आफ्नो पक्षमा पार्न त्यति सहज छैन।

०५७ मै कांग्रेसको महाधिवेशन प्रतिनिधि हुँदै ०७२ मा केन्द्रीय सदस्यमा निर्वाचित भएका शर्मा ०७४ मा पार्टीका प्रवक्ता भए। ०७६ मा कांग्रेसको तर्फबाट सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख भएका उनी हाल महामन्त्री छन्। पार्टीमा उनको आफ्नैखाले प्रभाव छ।

०६४ र ०७० को संविधानसभा सदस्य भएका वरिष्ठ अधिवक्ता खरेल पूर्वकानुनमन्त्री हुन भने हाल उनी एमालेका स्थायी समिति सदस्य र झापा इञ्चार्ज हुन।

झापा क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनअन्तर्गत प्रत्यक्षतर्फ प्रतिनिधिसभामा सदस्यमा शर्मा, प्रदेशसभा (१) मा गोपाल तामाङ र (२) मा श्यामवीर लिम्बू चुनावी मैदानमा छन्।

एमाले–राप्रपा तालमेलअन्तर्गत खरेल, प्रदेशसभा (१) मा रविन कोइराला र (२) मा सविना बजगाईँ कट्टेल छन्।

मेचीनगर नगरपालिकाका १५ वटै वडा, भद्रपुरको ९, १० नम्बर वडा र बुद्धशान्ति गाउँपालिकाको ४, ५ , ६, ७ वडा मिश्रित झापा क्षेत्र नं १ मा एक लाख २० हजार तीन सय ७५ मतदाता छन्। जमध्ये करिब १३ हजार नयाँ मतदाता थपिएका छन्।

स्थानीय चुनावमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार यहाँ एमालेसँग ३१ हजार दुई सय ३२ मत छ भने कांग्रेससँग २४ हजार ५९ मत छ।

राप्रपासँग पाँच हजार नौ सय २२ मत रहेको क्षेत्रमा माओवादीसँग तीन हजार नौ सय पाँच, एकीकृत समाजवादीसँग एक हजार दुई सय ५२ र लोकतान्त्रिक समाजवादी पार्टीसँग दुई सय ६२ मत छ।

नयाँ थपिएको मतदाता र चुनावको मुखमा दल अदलबदलको क्रमले चुनावी प्रतिस्पर्धा पेचिलो बन्ने निश्चित छ।