Logo
८ वैशाख २०८१, शनिबार

रवि लामिछानेले भने : त्रिभूवन विमानस्थललाई हर्षका आँशु खस्ने बनाउँछु

अक्षरपाटी
२०७९ मंसीर १ , बिहीबार ०९:११ मा प्रकाशित

चितवन १ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले क्षमतावानलाई अवसर दिन आफ्नो पार्टीलाई मतदान गर्नका लागि आह्वान गरेका छन्।

चितनमा आयोजित विशाल भेलालाई सम्बोधन गर्दै उनले आफूले सुविधासम्पन्न अमेरिका त्यागेर स्वदेश फर्कँदा अनेकन अपमान सहेको स्मरण गर्दै भने, ‘म विदेशमा रहेका नेपालीलाई सम्मानजनक स्वदेश फर्कने वातावरण बनाउने छु। उहाँहरुलाई भीभीआईपी प्रमाणपत्रको व्यवस्था गर्नेछु। देशले इज्जतका साथ अंगालो मार्ने वातावरण बनाउने छु।’

नारायणी नदी किनारमा जमा भएको मानवसागरलाई सम्बोधनका क्रममा उनले आफ्ना हरेक उम्मेदवारको जिम्मा आफू लिने बताए। उनले कसैले बेइमानी गरे कारवाहीका लागि यही जनसागरको जिम्मा लगाइदिने वाचा समेत गरे।

निकै भावुक मुद्रामा उनले भने, ‘मैले धेरै दुःख सहेँ, धेरै अपमान सहेँ तर कसैका सामु आँखा झुकाएर उभिनुपर्ने कहिल्यै भएन। मेरो छाती कहिल्यै साँघुरो भएन, सधैँ चौडा छ। यो शिरमा धेरै आमाहरुको आर्सिवाद छ।’

उनले आम जनतालाई प्रलोभनमा नपरी मतदान गर्न आग्रह गरे। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा आम मतदातालाई कुनै प्रलोभनमा नपरी निर्धक्कसँग जनप्रतिनिधि छान्न अनुरोध गर्दै भने, ‘देशमा नातावाद, कृपावादलाई अन्त्य गर्न हामी आएका हौँ।’

उनले देशमा व्याप्त अँध्यारो हटाउन आफूहरु मुमबत्ती भएर आएको बताउँदै ती देशभर छरिएका उम्मेदवाररुपी मुमबत्तीलाई सल्काउने काम जनताको भएको बताए।

आफू कुर्सी, पद र पावरका लागि नभएर आउने पीँढीको भविश्यका लागि चुनावमा होमिएको बताए।

उनले अहिले कुनै आस्वासन दिन होइन, तमामौँ आस्वासन र वाता धेरैले धेरै समयदेखि गरिसकेकाले आफू काम गर्न आएको बताए। उनले भने, ‘मैले यो देशको एयरपोर्टमा धेरै आफन्तका आँशु बगेको देखेको छु, बुढेसकालको सहारा होला भन्ने सन्तानको विदाइमा धेरै आमा बुवा रोयको देखेको छु। म वाचा गर्छु अबको केही समयमा म त्यहाँ घुम्न गएको आफन्तको स्वागतमा, पढ्न गएको सन्तानको स्वागतमा, विदेश त्याएर आएको आफन्तको स्वातमा आँशु खस्ने रुपमा रुपान्तरण गर्नेछु।’

उनले आम मानिस राज्यको पहुँचबाट दिन प्रतिदिन टाढिँदै गएको बताउँदै बेथिति अन्त्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गर्न अपिल गरे।

‘जति व्यवस्था फेरिए पनि क्षमता र दक्षताका आधारमा नभई सधैँ शक्ति केन्द्रमा रहेकासँगको सम्बन्धका आधारमा सामान्य कामदेखि ठूला नियुक्तिसम्म हुने गरेका छन्,’ उनले भने, ‘अब पैसामा हुने भ्रष्टाचार मात्र होइन हुनुपर्ने काम समयमा नहुने प्रवृति पनि भ्रष्टाचार हो भन्ने कानुन बनाएर त्यस्ता भ्रष्टाचारीलाई देश छाड्न वाध्य बनाउनेछु।

उनले राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मीका सन्ताको शिक्षा, स्वास्थ्य र सामाजिक ग्यारेन्टी गर्ने प्रण गर्दै भने, ‘तपाईँहरुले अब भ्रष्टाचारीलाई सलाम गर्नुपर्ने दिन रहनेछैनन्। सेवामा समर्पित भएर पनि परिवार धान्न कसैको मुख ताक्नुपर्ने अवस्था रहने छैन।’

पुराना दलमा पनि विगत ३० वर्षदेखि एउटै अनुहार उम्मेदवार बन्ने गरेको उनले बताए।

राजनीतिक सिन्डिकेटका कारण जान्नेले अवसर नपाएको भन्दै राजनीतिक दलभित्र होस् वा राज्यका नियुक्ति तथा सामान्य जागिरमा क्षमतावानले अवसर पाउने स्थितिका लागि सही नेतृत्व छान्नुपर्ने उनले बताए।

उनले आफ्ना लागिभन्दा पनि आउँदो पीँढीको शुन्दर भविश्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गर्न अपिल गरे।

दुई सय ५० मेगावाटको सौर्य ऊर्जा प्लान्ट स्थापना गर्ने, वार्षिक एशिया व्यवसाय कन्फरेन्स गर्ने, नेपालमा दोस्रो स्टक मार्केट स्थापना गर्ने, हरित नारायणी करिडोर स्थापना तथा कर्पोरेट हेडक्वार्टर चितवन राख्ने संस्थालाई विशेष सहुलियत दिने सो पार्टीको घोषणापत्रमा उल्लेख छ।

लामिछानेले मजदुर, किसानका लागि विशेष परिचयपत्र, किसान र मजदुरको गुनासो सुन्न विशेष डेस्क, साना व्यापारीसँग हातेमालो, तनावमुक्त सरकारी कार्यालय, स्वरोजगार, साना व्यापारी आदिको हकहितको सुरक्षा तथा सम्मान, अपराध अनुसन्धानमा तीव्रता र कडाइ, ‘फास्ट ट्र्याक’ कोर्ट, सीमासुरक्षा र छोरी जन्मे घरमा उत्सवजस्ता कार्यक्रम पार्टीले अघि सारेको छ।

उनले अब उप्रान्त कुनै व्यापारी, व्यवसायीले कर तिरेर पनि कुनै पार्टीको झन्डा मुनी बस्नुपर्ने, चुनावमा चन्दा चढाउनुपर्ने दिनको अन्त्य हुने पनि उद्घोष गरे। अन्तिममा उनले उपस्थित जनसागरलाई मोबाइलमा लाइट बाल्न अनुरोध गर्दै मञ्चबाटै सेल्फी खिचेका थिए।

रवि लामिछाने