Logo
१३ वैशाख २०८१, बिहीबार

भारतबाट फर्किएका नेपाली भन्छन् : रोजगारी सिर्जना गर्नेलाई मत’

अक्षरपाटी
२०७९ मंसीर २ , शुक्रबार ११:११ मा प्रकाशित

महेन्द्रनगर, २ मङ्सिर । दुई महिनाअघि मात्रै मजदूरीका लागि भारतको सिमला पहाड पुगेका गगन सिंह परिवारका सदस्यसहित नेपाल फर्किए। उनी आइतबार हुनलागेको निर्वाचनमा मतदान गर्नकै लागि आएका हुन्।

कैलालीको लम्कीका ७० वर्षीय सिंहले भने, “गाउँघरबाट भोट हाल्न सबले आउनुर्छ भनेपछि काम छाडेर मतदान गर्न आएको हुँ ।” उनले जीवनभर मतदात गरे पनि घरको खर्च चलाउन जहिल्यै भारत पस्नुपरेको दुखेसो पोखे।

उनले स्वदेशमै रोजगारी सिर्जना गर्ने दल र तिनका उम्मेदवारलाई जिताउनुर्ने बताए।

“भोट हालेर फेरि भारत जानुपर्ने हाम्रो नियति छ”, उनले भने, “देशको व्यवस्था फेरिए पनि मजदूरी गर्नेको अवस्था फेरिएन।” उनले आफू लामो समयदेखि भारतमा मजदूरी गरेर जीविका चलाउँदै आएको सुनाए।

उहाँसँगै देहरादुनबाटै मतदान गर्न १६ दिनको बिदामा आएका कोहलपुरका गगन रानाले जनप्रतिनिधिले जन भावनाअनुसार काम गर्नुपर्ने बताए।

“चुनाव जित्ने अनि आफन्त र नजिकालाई मात्रै हेर्नाले देशको विकास भएन्”, उनले भने, “प्रजातन्त्रदेखि गणतन्त्र आइसक्दा पनि मुलुकभित्रै बसेर परिवार पाल्नसक्ने दिन आएनन्।”

उनले निर्वाचनको मुखमा पनि युवा भारत र अन्य देशमा गइरहेको अवस्था देख्दा दुःख लागेको बताए।

भारत देहरादुनबाट घर फर्किन लागेका कोहलपुर सम्झना चोकका पानसरी रानाले आफू बीस वर्षदेखि भारतमा काम गरिरहेको सुनाए।

“ठूलो श्रम गर्ने जनशक्ति विदेशमा पसिना बगाइरहेको छ”, उनले भने, “नेताहरुले गफ अनुसारको काम गरिदिए त्यो पसिनाले आफ्नै देश बन्ने थियो।”

सडक पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा क्रमिक रुपमा विकास हुँदै गए पनि युवा स्वरोजगार एवं मुलुकभित्रै आयआर्जन गर्ने योजना ल्याउन आवश्यक रहेको उनले बताए।

गरिब र विपन्न समुदायको स्तर माथि ल्याउने खालका योजना र विचार भएका नेतालाई मत दिने उनले सुनाए।

भारतको नयाँ दिल्लीबाट स्वदेश फर्किएका मदनराज पन्तले पनि नेताप्रति आक्रोस व्यक्त गरे।

“जुनसुकै नेताले जिते पनि हामीले भारतमा कामका लागि निर्भर रहनुपर्ने बाध्यता छ”, उनले भने, “भारतमा मजदूरी गरेर घर खर्चका लागि मजदूरीदेखि बिरामी हुँदा उपचार गर्नसमेत भारत जानुपर्ने स्थिति छ।”

नारायणगढको देवघाटका मनिराम भुजेलले गाउँबस्तीमै रोजगारी दिनेलाई मतदान गर्ने योजना सुनाए।

सात महिनामा सिमलाबाट फर्किरहेका भुजेलले निर्वाचनपछि पुनः मजदूरीका लागि भारत फर्किने बताए।

इलाका प्रहरी कार्यालय गड्डाचौकीले निर्वाचनका लागि मतदान गर्न तीन दिनयता स्वदेश फर्किनेको चाप बढेको जनाएको छ।

केही दिनदेखि दैनिक अढाईदेखि तीन सयसम्म नेपाली घर फर्किरहेको इप्रका गड्डाचौकीका प्रहरी नायव निरीक्षक बहादुरसिंह धामीले सुनाए।

जिल्ला प्रशासन कार्यालयले बिहीबार राति १२ बजेदेखि पश्चिमी सीमानाका गड्डाचौकीबाट आवागमन रोक लगाउने निर्णय गरिसकेको छ।