Logo
८ वैशाख २०८१, शनिबार

धनगढी झिलिमिलि बनाउन ‘स्मार्ट स्ट्रिट लाइट’ जडान हुँदै

अक्षरपाटी
२०७९ मंसीर ३ , शनिबार ०७:११ मा प्रकाशित

धनगढी ३ मंसिर। धनगढी उपमहानगरपालिकामा स्मार्ट स्ट्रीट लाइट जडान गर्ने काम सुरु भएको छ।

धनगढी उपमहानगरपालिका र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा ट्राफिक चौराहादेखि विमानस्थल चोकसम्म ६ लेन सडकमा २ सय १३ पोलमा ४ सय ३४ बत्ती जडान गरिने छ ।

अबको तीन महिनाभित्र ६ लेन सडक झलमल्ल उज्यालो हुने गरी शुक्रबारदेखि काम सुरु भएको हो।

यसले सडक दुर्घटनाको खतरादेखि असामाजिक गतिविधि टर्ने दाबी गरिएको छ। धनगढी उपमहानगरपालिका र प्राधिकरणको साझेदारीमा २ करोड ६८ लाख ६८ हजारको लागतमा स्मार्ट स्ट्रीट लाइट जडान हुनेछ।

धनगढी उपमहानगरपालिकाको ६० प्रतिसत र नेपाल विद्युत प्राधिकरणको उर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग, राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको ४० प्रतिसत लागतमा स्मार्ट स्ट्रीट लाइटको काम सुरू भएको धनगढी उपमहानगरपालिकाले जनाएको छ।

धनगढीको मेयरमा निर्वाचन लड्दैगर्दा गोपाल हमालले गरेको प्रतिवद्धता अनुसार उनी मेयर भएपछि पहिलो चरणमा २ सय १३ पोलमा ४ सय ३४ वटा बत्ती जडान गरिन लागेको महानगरले जनाएको छ।

६ महिनाभित्र काम सम्पन्न हुने गरि सम्झौता भए पनि ३ महिनाभित्र सबै काम सक्ने कामको जिम्मा पाएको सूर्योदय उर्जा प्रालिका इन्जिनियर रविनकुमार महतोले बताए।

‘६ लेन सडक निर्माण भएपछि रातको समयमा सडक दुर्घटना बढी हुन थाले,’ उपमहानगरका मेयर गोपाल हमालले भने, ‘गाईवस्तु र डिभाइडरमा ठोक्किएर दुर्घटनामा परि कुनै नागरिकको ज्यान नजाओस भनेर स्मार्ट स्ट्रीट लाइट राख्ने योजना बनाइएको हो।’

स्मार्ट लाइट जडानका दौरान १० वटा हाइमास्ट लाइट राख्ने उपमहानगरको योजना छ। ६ लेनको मेडियनलाई पनि हरियाली बनाउने योजना उपमहानगरको छ।

यो योजनालाई लगत्तै अगाडि बढ्ने नगर प्रमुख हमालले बताए। उनले भने, ‘६ लेन सडकको मेडियनलाई ग्रीन वेल्टको रुपमा विकास गर्ने योजना छ।’

गोपाल हमाल धनगढी उपमहानगर