Logo
८ वैशाख २०८१, शनिबार

हुम्लामा झडप हुँदा मतदान अधिकृत र नेपाली सेना घाइते

अक्षरपाटी
२०७९ मंसीर ४ , आईतबार ०१:११ मा प्रकाशित

हुम्ला ४ मंसिर। हुम्लाको सर्केगाडमा गाउँपालिका वडा–३ स्थित देवकोटा आधारभूत विद्यालय उनापानी मतदान स्थलमा झडप भएको छ । झडपमा परि सहायक मतदान अधिकृत र सेनाका हुद्दा गरी दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा सहायक मतदान अधिकृत प्रेम भण्डारी र नेपाली सेना हुद्दा अर्जुन उपरकोटी रहेका छन् । उनीहरुको टाउकोमा चोट लागेको छ ।

बिहान ८ः३० बजे वारेशनामाको विवादका कारण सत्ता गठबन्धनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारका कार्यकर्ताहरुबीच झडप भएको थियो ।

सोही क्रममा सहायक मतदान अधिकृत भण्डारीको टाउकोमा चोट लागेको हो ।

त्यसपछि बसेको सर्बदलीय बैठकमा पुनः मतदान थाल्ने सहमति भएको थियो । तर फेरि एक दर्जन बढी व्यक्तिहरुले मतदान केन्द्र बाहिर ढुंगामुढा गरेपछि तनाव सुरु भएको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायर गरेको छ । उक्त मतदान स्थलमा बिहान साढे ९ बजेदेखि मतदान स्थगित भएको छ ।