Logo
१४ वैशाख २०८१, शुक्रबार

निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रह्यो : पर्यवेक्षक संस्था

अक्षरपाटी
२०७९ मंसीर ४ , आईतबार ०६:११ मा प्रकाशित

काठमाडौं। निर्वाचन पर्यवेक्षण संस्थाले प्रतिनिधि र प्रदेशसभा सदस्यको आज भएको निर्वाचन छिटपुट घटनाबाहेक आमरूपमा शान्तिपूर्ण र व्यवस्थितरूपमा सम्पन्न भएको जनाएको छ।

मतदानमा अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत सबै वर्ग, समुदाय, लिंग र अवस्थाका मतदाताको उत्साहवद्र्धक सहभागिता भएको आम निर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक) ले जानकारी दिएको छ।

निर्वाचन शान्तिपूर्ण हुनुमा दल, उम्मेदवार र मतदाताको व्यवहार संयमित, सहयोगात्मक र शान्त भएको पाइएको संस्थाका महासचिव कृष्णमान प्रधानले बताए।

बिहान प्रारम्भिक चरणमा मतदाताको पातलो उपस्थिति देखिए पनि दिउँसो मतदाताको चाप र उपस्थितिमा सुधार आएको थियो। उक्त संस्थाले मुलुकका ३६ जिल्लाको दुई सय ५० पालिकामा राष्ट्रियस्तरका ३०, जिल्लास्तरका ३६ र स्थानीय तहका दुई सय ८४ पर्यवेक्षक खटाएको थियो।

पूर्वप्रधानन्यायाधीश, पूर्वप्रमुख निर्वाचन आयुक्त र पूर्वमुख्य सचिवसहितको १० विशेष पर्यवेक्षक टोलीले दिएको प्रारम्भिक प्रतिवेदनका आधारमा संस्थाले निष्कर्ष निकालेको उल्लेख गरेको छ।

यसै राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले निर्वाचन शान्तिपूर्ण रहे पनि विगतका निर्वाचन जस्तो मतदातामा उत्साह कम रहेको तथा मतदान प्रतिशत पनि घट्न सक्ने आकलन गरेको छ।

सो संस्थाले यस निर्वाचनमा एक हजार आठ सय पर्यवेक्षक खटाएको नियोगका कार्यकारी निर्देशक विकल श्रेष्ठले बताए।

उक्त संस्थामा रहेका एक पूर्वप्रमुख निर्वाचन आयुक्तसहितको टोलीले निर्वाचनको पर्यवेक्षण गरेको हो।

पर्यवेक्षक