Logo
१६ चैत्र २०८०, शुक्रबार

देशभर ६१ प्रतिशत मतदान, काठमाडौंको मतगणना आजै प्रारम्भ

अक्षरपाटी
२०७९ मंसीर ४ , आईतबार ०९:११ मा प्रकाशित

काठमाडौं ४ मंसिर। आज सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा ६१ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी निर्वाचन आयोगले गराएको छ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार सामान्य घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहजनकरूपमा निर्वाचन सम्पन्न भएको छ।

आयोगले संघिय सरकार, प्रदेश सरकार, स्थानीय तह, निर्वाचन अधिकृत, स्थानीय प्रशासन, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, मतदाता, पर्यवेक्षक, अन्तर्राष्ट्रिय समुदाय, सञ्चारमाध्यम, निजी क्षेत्रलगायत सबै क्षेत्र र समुदायप्रति आभार व्यक्त गरेको छ।

मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जारी रहेको जनाउँदै आयोगले हालसम्मको प्रारम्भिक विवरण अनुसार करिब ६१ प्रतिशत मतदान भएको जनाएको छ।

जुन आयोगले गरेको अपेक्षाभन्दा न्यून भएको बताइएको छ। केही जिल्लाका मतदान केन्द्रमा विविध कारणवश केही समय मतदान कार्य रोकिएकोमा राजनीतिक दल तथा उम्मेदवार र निर्वाचन प्रतिनिधिहरूसँगको छलफलपछि पुनः सुरू भएको थियो।

निर्वाचनको सिलसिलामा निर्वाचन सामग्रीको प्रयोगमा बाधा पुर्‍याउने, मतपत्रको दुरुपयोग गर्ने, मतदानको प्रक्रिया उल्लंघन गर्ने, मतेपटिकामा अन्य वस्तु खसाल्ने, पटक पटक मतदान गर्न खोज्ने, मतपत्र नष्ट गर्ने, मतदान स्थल कब्जा गर्ने लगायतका कार्यमा संलग्न जोसुकैलाई (निर्वाचन कसुर तथा सजय) ऐन २०७३ बमोजिम तत्काल कारवाही प्रारम्भ गर्न आयोगले निर्देशन र्दिएको जानकारी गराइएको छ।

मतदानका क्रममा कतिपय मतदान केन्द्रमा कर्मचारी र मतदाताको असावधानीका कारण प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको केही मतपत्र तोकिएको मतपेटिकामा नखसी अर्को मतपेटिकामा खसेको भन्ने गुनासो आएको थियो।

मतगणनाका सन्दर्भमा उत्पन्न हुन सक्ने विवाद वा अस्पष्टतालाई स्थानीयरूपमै छलफल गरी समाधान गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई जिम्मेवार तुल्याइएको आयोगले जनाएको छ।

आज साँझदेखि नै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको भइरहेकाले मतगणना स्थलमा ल्याइसकेपछि दलीय सहमति जुटाई काठमाडौँ उपत्यकालगायतका क्षेत्रमा आज रातिदेखि नै मतगणना शुरू गर्ने र अन्य स्थानमा मतपेटिका सुरक्षित साथ संकलन भएपछि तत्काल मतगणना प्रारम्भ गर्न निर्देशन दिइएको आयोगले जनाएको छ।

जिल्ला सुरक्षा समितिको सिफारिस बमोजिम ७ वटा हिमाली जिल्लाका अति विकट मतदान केन्द्रका मतपेटिकाहरू नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी मौसमले साथ दिएमा भोलि अपरान्ह ४ बजे भित्र सदरमुकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म ढुवानी गर्ने योजना छ।

निर्वाचन आयोग मतदान