Logo
१४ वैशाख २०८१, शुक्रबार

बैतडी दुर्घटनाः मृतक ४ प्रहरीको पहिचान खुल्यो (नामसहित)

अक्षरपाटी
२०७९ मंसीर ५ , सोमबार ११:११ मा प्रकाशित

धनगढी । बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान खुलेको छ। प्रहरी सवार जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ। मृत्यु हुने सबै प्रहरी हुन्।

दुर्घटनामा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, जवानहरू लोकबहादुर बाठामगर, रमेश साउद र बिर्खबहादुर विष्टको मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। लोकबहादुर, रमेश र विर्खबहादुरको घटनास्थलमै मुत्यु भएको हो भने अर्जुनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो।

दुर्घटनामा परी आठ प्रहरी र चालक घाइते भएका छन्। हवल्दार गणेश खड्का, प्रहरी सहायक हवल्दार गोपालबहादुर पाल, प्रहरी जवान पुतली खड्का, प्रहरी जवानहरु नरेश कठरिया, आशा धामी, भानु विष्ट, टिकेन्द्र ऐरी, चन्द्र सिंह ठगुन्ना र चालक देवराम महर घाइते भएका हुन्।

घाइतेमध्ये गणेश र पुतलीलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर पठाइएको प्रजिअ पन्थीले बताए। अन्य घाइतेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। उपचाररत नरेश, आशा र देवरामको अवस्था पनि गम्भीर रहेकाले उनीहरूलाई पनि थप उपचारको लागि हेलिकप्टरमार्फत पठाउने तयारी भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

प्रहरी बोकेको से १ ज ८५४ नम्बरको जिप सोमबार बिहान दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका ४ निङ्लाडी खोला भन्ने स्थानमा जिप दुर्घटनामा परेको थियोे। जिपमा १२ प्रहरी र १ चालक गरि १३ जना सवार रहेका थिए।

जिल्ला सदरमुकाममा मतपेटिका पुर् याएर पाटन फकिँदै गरेको प्रहरी टोली सवार जीप बिहान ७ बजे दुर्घटनामा परेको हो। जिप सडकबाट करिब ३०० मिटर तल खोलामा खसेको छ। रातभर मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ ।