Logo
१४ वैशाख २०८१, शुक्रबार

कर्णालीका तीन जिल्लाका मतपेटिका मंगलबारसम्म सदरमुकाम आइपुग्ने

अक्षरपाटी
२०७९ मंसीर ५ , सोमबार १२:११ मा प्रकाशित

कर्णाली प्रदेशका हुम्ला, मुगु र डोल्पामा भोलि मंगलबारसम्म मतपेटिका जिल्ला सदरमुकाममा आइपुग्ने बताइएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जाजरकोटमा आज बेलुका र रुकुम पश्चिममा दिउँसोसम्म मतपेटिका संकलन हुने जानकारी दिए ।

माथिल्लो कर्णालीका तीन जिल्लाबाट आजै मतपेटिका जिल्ला आउने अवस्था नरहेको उनले बताए। ुभौगोलिक विकटताका कारण सबै जिल्लाका मतपेटिका जिल्लामा आइपुगेका छैनन्,ु प्रहरी नायब महानिरीक्षक पोखरेलले भने, ुहुम्ला, मुगु, र डोल्पा जिल्लामा भोलिसम्म मतपेटिका जिल्लामा आइपुग्ने देखिन्छ । रुकुमपश्चिममा आज दिउँसोसम्म मतपेटिका आइपुग्दैछ ।ु

उनका अनुसार कर्णालीका सुर्खेत, जुम्ला, सल्यान, दैलेख र कालिकोटमा मतगणनाका लागि सर्वदलीय बैठक बस्दैछ । हुम्लाको उत्तरी भेग र डोल्पाको माथिल्लो क्षेत्रको मतपेटिका संकलनका लागि हेलिकोप्टर प्रयोग गर्नुपर्ने अवस्था छ ।

हुम्ला जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी श्याम रानाले नाम्खा गाउँपालिको हल्दीदाङ, तिल, सर्केगाड, चङ्गेली, ताँजाकोट र अदानचुली गाउँपालिकाबाट मतपेटिका आइनपुगेकाले हेलिकोप्टर माग गरिएको बताए ।

डोल्पाका निर्वाचन अधिकारी रामबहादुर शाक्यले माथिल्लो डोल्पामा पर्ने छार्काताङ्सोङ से–फोक्सुन्डो, डोल्पोबुद्ध गाउँपालिकाका मतदान केन्द्रबाट मतपेटिका हेलिकोप्टरबाट ल्याउने भनिए पनि अहिलेसम्म हेलिकोप्टर पुग्न नसकेको जानकारी दिए ।

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जिल्लाका सबै पालिकामा सडक नजोडिएकोले दुई दिनको बाटो हिँडेर मतपेटिका सदरमुकाम गमगढी ल्याउने काम भइरहेको बताए । सबै पालिकाको मतपेटिका सदरमुकाम पुगेपछि भोलिदेखि मतगणना सुरु हुने उनले जनकारी दिए । प्रजिअ महतकाअनुसार हुम्ला, डोल्पा र मुगुमा भोलिदेखि मात्र मतगणना हुनेछ ।