Logo
१४ वैशाख २०८१, शुक्रबार

कैलालीका तीन क्षेत्रमा नागरिक उन्मुक्ति, ४ र ५ मा एमालेको अग्रता

अक्षरपाटी
२०७९ मंसीर ६ , मंगलबार ०८:११ मा प्रकाशित

कैलाली ६ मंसिर। कैलाली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले अग्रता कायम राखेकी छन्। उनले हालसम्म आठ हजार दुई सय ३६ मत प्राप्त गरेकी छन्।

उनलाई नेपाली कांग्रेसका रामजनम चौधरीले पाँच हजार एक सय ८३ मतसहित पछ्याइरहेका छन्।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका तपेन्द्र रावलले एक हजार आठ सय ४७ मत प्राप्त गरेका छन्।

सो क्षेत्रमा खसेका मतमध्ये आज साँझसम्म करिब २० प्रतिशत मत गणना भएको हो।

साथै, निर्वाचन क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार अरुणकुमार चौधरी तीन हजार एक सय २७ मतसहित अग्रस्थानमा छन्। उनलाई नेकपा माओवादी केन्द्रका भगतबहादुर बडुवाल दुई हजार एक सय ७७ मतसहित पछ्याइरहेका छन्।

तेस्रो स्थानमा एमाले उम्मेदवार झपटबहादुर रावलले एक हजार नौ सय ७२ मत प्राप्त गरेका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ बाट भने नागरिक उन्मुक्ति पार्टीका गंगा चौधरी २३ हजार एक सय २० मत प्राप्त गरी विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १७ हजार सात सय ४९ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नं ४ मा सुरुदेखि अग्रता बनाएका नेपाली कांग्रेसका वीरबहादुर बलायरलाई नेकपा एमालेका लेखराज भट्टले उछिनेका छन्।

जारी मतगणनामा भट्टले २० हजार दुई सय १४ मत पाउँदा बलायरले १९ हजार आठ सय १९ मत प्राप्त गरेका छन्।

आज बिहानदेखि सुरु भएको निर्वाचन क्षेत्र धनगढी क्षेत्रको पछिल्लो मतगणना अनुसार नेकपा एमालेका नारदमुनी रानाथारुले एक हजार दुई सय ८० मत पाउँदा नेपाली कांग्रेसका डिल्लीराज पन्तले एक हजार ३९ मत पाएका छन्।

कैलाली निर्वाचन