Logo
१५ चैत्र २०८०, बिहीबार

भारतको आसाम र मेघालय सीमामा अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको मृत्यु

अक्षरपाटी
२०७९ मंसीर ६ , मंगलबार ०९:११ मा प्रकाशित

एजेन्सी। भारतका दुई उत्तरपूर्वी राज्य आसाम र मेघालयलाई विभाजन गर्ने सीमा नजिकै प्रहरीले चलाएको गोली लागेर कम्तीमा ६ जनाको मृत्यु भएको मेघालयका मुख्यमन्त्री कोनराड संगमाले मंगलबार पुष्टि गरेका छन्।

घटना मेघालयको पश्चिम जयन्तिया हिल्स जिल्लामा भएको थियो। असम प्रहरी र असम वन रक्षकहरूले भीडमा अन्धाधुन्ध गोली चलाएका थिए।

सञ्चारमाध्यममा जनाइएअनुसार असम प्रहरीका अनुसार कर्मचारी र असम वन गार्डहरू ट्रकलाई पछ्याउँदै मेघालयको क्षेत्रमा प्रवेश गरेका थिए।

त्यहाँ दुई पक्षबीच चर्को बहस भएको र त्यहाँ उपस्थित असमका सुरक्षाकर्मीले भीडमाथि अन्धाधुन्ध गोली चलाउँदा उक्त घटना भएको बताइएको छ।

सङ्गमाले ट्वीट गर्दै पश्चिम जयन्तिया हिल्स जिल्लाको मुक्रोह गाउँमा भएको दुर्भाग्यपूर्ण घटनामा असम प्रहरी र असम वन रक्षकहरूको गोलीबाट ६ जनाको मृत्यु भएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, “मृतकमध्ये पाँच जना मेघालयका बासिन्दा भएको र एक जना असम वन रक्षक भएको पुष्टि भएको छ। मृतकका शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु।”

उनका अनुसार यस अमानवीय कार्यका लागि जिम्मेवार व्यक्तिलाई कारबाही गर्न आफ्नो सरकारले सबै किसिमका कदम चाल्ने बताएका छन्।

यसैबीच मुख्यमन्त्रीले घटनाको निन्दा गर्दै मृतकका आफन्तलाई ५ लाख भारतीय रूपैयाँ क्षतिपूर्ति उपलब्ध गराउँने घोषणा पनि गरेका छन्।