Logo
११ वैशाख २०८१, मंगलबार

‘याैनशक्ति’ बढाउने भ्रमले नासिँदै भँगेरा

अक्षरपाटी
२०७९ मंसीर १४ , बुधबार ११:११ मा प्रकाशित

० अक्षरपाटी विशेष

चतूर र प्रिय पंक्षी भँगेराको बयान गर्दै राष्ट्रकवि माधव घिमिरेले लेखेको कविता बालकदेखि बुढापाकासम्म चर्चित छः-
कुरा गर्छन् कसरी

भँगेरा र भँगेरी
चुरचुर गर्छ भँगेरो !
चिरचिर गर्छे भँगेरी।
चारो चर्न हुन्न है
यताउति नहेरी
यौटा आँखो तँ हेरी
अर्को आँखो म हेरी ।

तर यो चर्चित कवितामा वर्णन गरिएको भँगेरा हिँजाेआज भने लोप हुन थालेका छन्।मानिसको नजिकै बस्ने, घरहरुमा रमाउने मानिसको फुच्चे साथी भँगेरा शहरीकरणसँगै मासिँदै गएका छन्।

घरायसी पंक्षीको रुपमा चिनिने भँगेरा मानिसकै शरणमा हुर्किने र बाँच्ने गर्छ। मानिसकै वरिपरि चिरवीर गर्दै रमाउँने भँगेरा अहिले धेरै ठाउँमा देखिनै छोडेका छन्।

कहिल्यै पनि जंगलमा बस्न नरुचाउँने यो पंक्षी पछिल्लो सयम वासस्थान अभावका कारण लोप हुँदै गएको हो। भँगेरा मासिनुको अर्को कारण भँगेराको मासुलाई यौनवर्द्धक शक्तिको रुपमा लिइने भ्रमका कारण पनि यसको अस्तित्व शंकटमा पर्दै गएको छ।

चिरचिर गर्दै घर आगन र मानिसको वरपर रमाउने भँगेरा घरको प्वालमा गुड बनाउने गर्छ। तर पछिल्लो सयम पक्की घर निर्माणकाे क्रम बढेपछि वासस्थान समेत नहुँदा भँगेरा लोप हुन थालेको हो।

शहरमा निर्माण भएका ठूल्ठूला टावरको विकिरणले गर्दा पनि भँगेरा खतरामा पर्दै गएको विज्ञहरु बताउँछन्। बढ्दो शहरीकरण, प्रदूषण र आधुनिक खेती प्रणालीका कारण विश्वभरि नै भँगेरालाई असर परेको छ।

केही अध्ययनले मोबाइल फोन र यसका टावरको विकिरणका कारण भँगेरालाई बाँच्न कठिन भएको निष्कर्ष निकालेका छन्।

पंक्षीहरुमा सबैभन्दा बढी यौनक्रिडामा रमाउँने भँगेराले दिनमै ३ सय पटकसम्म यौन सम्पर्क गर्ने क्षमता राख्दछ। त्यसैले ‘भँगेराको मासु समेत यौनवर्द्धक हुने’ भ्रम समेत मानिसहरुमा छ । त्यसैले यौन क्षमता बढाउन भँगेराको शिकार गर्ने प्रवृति पनि धेरै ठाउँमा पाइन्छ।

पहिला एक परिवारका लागि बनाइएको तीनतले घरमा ३० भन्दा बढी भँगेराको परिवार बस्न प्वाल बनाएको हुन्थ्यो। तर अहिले १० तले घर बनाउँदा पनि भँगेराकाे बारेमा नसोचिँदा बासस्थानकै अभावमा पनि भँगेरा लोप हुँदै गएका छन्।

अपत्तकालीन अवस्थामा सूचना प्रवाहको संकेत समेत गर्ने भँगेर मानव जीवनका लागि निकै उपयोगी साथी भएको विज्ञहरु बताउँछन्।

इतिहास हेर्दा सन् १९५८ मा अन्नबाली खाएको भन्दै चीनमा भँगेरा विरुद्धको अभियान नै चलाएर मारिएको थियो। सो अभियानमा करिब दुई अर्ब भँगेरा मारेको इतिहास छ।

तर त्यसको प्रतिफल उल्टो निस्कियो। पछि चीनमा अन्नबालीमा कीरा लागेर भोकमरी नै भयो। चीनले झिँगा,लामखुट्टे, मुसा र भँगेरा मार्न चालेको अभियान नै गलत सावित भयो। त्यसपछि भँगेराको थप विकास गरियो।

त्यसैले केही वर्षयता नेपालमा पनि भँगेरा दिवस मनाउन थालिएको छ। करिब तीन वर्ष बाँच्ने भँगेराको तौल ४० ग्रामसम्म हुन्छ।

पारिस्थितिक प्रणालीसँग मात्र नभएर इकोसिस्टम, जीवनशैली र परिवारको मानसिक स्वास्थ्य, खेतीबाली संरक्षणदेखि आपतविपद्को जानकारी दिनसमेत भँगेराको ठूलो भूमिका हुने विज्ञहरुको भनाइ छ।

सन् २०१० बाट विश्वव्यापी रूपमा मनाउन सुरु गरिएको भँगेरा दिवस नेपालमा सन् २०१२ देखि मनाउन थालिएको छ। अभियानको उद्देश्य भँगेराको संरक्षण नै हो।

विश्वमा पाइने ३२ प्रजातिका भँगेरामध्ये नेपालमा घर, रुख, कैलो, पीतकण्ठे र स्पेनिस गरी पाँच प्रजातिका भँगेरा मात्र पाइने गरेका छन्। जो अहिले विभिन्न कारणले शंटमा छन्।

भँगेरा