Logo
१५ चैत्र २०८०, बिहीबार

‘सुदूरपश्चिम महोत्सव’ उद्घाटनमा प्रधानमन्त्री देउवालाई निमन्त्रणा

अक्षरपाटी
२०७९ मंसीर १३ , मंगलबार ०१:११ मा प्रकाशित

धनगढी।  २०६३ सालदेखि नियमित रुपमा धनगढीमा लाग्दै आएको ‘सुदूरपश्चिम महोत्सव’ दुई वर्ष कोरोना भाइरसका कारण प्रभावित बन्न पुग्यो। हरेक वर्ष मंसिर २२ देखि पौष २ गतेसम्म चल्ने महोत्सवको तयारी यस वर्ष भने तीव्र रुपमा भइरहेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ को पशुपति टोलमा लाग्ने महोत्सव आयोजनाका लागि महोत्सव स्थल सजावटको काम भइरहेको छ।

सुदूरपश्चिमको विशेष पर्वको रुपमा स्थापित हुँदै आएको महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै निमन्त्रणा गरिएको आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी गराए। ‘हामी अहिले काठमाण्डौँमै छौँ, सम्माननीय प्रधानमन्त्री ज्युलाई भेटेरै २२ गते उद्घाटन हुने महोत्सवको प्रमुख अतिथिका लागि आमन्त्रण गरिसकेका छौँ। प्रायोजक सह–प्रायोजक खोज्ने काम पनि जारी छ, उनले भने।

मंसिर २२ गते उद्घाटन हुने महोत्सवका लागि कैलाली उद्योग वाणिज्य संघको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै निमन्त्रणा गरिसकेकाले बाँकी तयारीको काम भइरहेको बताइएको छ। महोत्सव स्थलमा व्यावसायिक प्रयोजनका करिब ५ सय स्टल निर्माणको काम भइरहेको छ।

१० करोडको कारोवारसहित ५ लाख बढी दर्शकले मेला अवलोकन गर्ने आयोजकको दाबी छ। उद्योग वाणिज्य संघले धनगढी मेनरोड चौडा बनाउने क्रममा विस्थापित भएका व्यवसायीलाई स्टल बुकिङमा ५० प्रतिशत छुट दिने निर्णय गर्दै महोत्सव तयारीलाई तीव्र पारेको हो।

१० दिनसम्म चल्ने सुदूरपश्चिम महोत्सवका लागि ६० प्रतिशत व्यावसायिक प्रयोजनका स्टल बुकिङ भइसकेको आयोजकको दाबी छ। अहिले मञ्च निर्माणदेखि महोत्सव स्थल सजावटको काम भइरहेको छ। सुदूरपश्चिमको उद्योग, पर्यटन, कृषि र यहाँका संभावनाहरुलाई उजागर गर्ने मुख्य उद्देश्यसहित महोत्सवको तयारी भइरहेको उद्योग वाणिज्य संघले जनाएको छ।

‘दिगो विकासका लागि आर्थिक सम्वृद्धि’ मुल नारासहित कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि हरेक वर्ष मंसिर २२ देखि पौष २ गतेसम्म महोत्सव आयोजना गर्दै आएको छ। यहाँका कला संस्कृतिको जगेर्ना गर्दै महोत्सवलाई सुदूरपश्चिमको विशेष पर्वको रुपमा थप परिष्कृत गर्ने काम भइरहेको आयोजकले बताएको छ। स्थानीय कलाकारलाई उच्च प्राथमिकतामा राखेर राष्ट्रिय कलाकारहरुको समेत महोत्सव अवधिभर बेजोड प्रस्तुति रहने बताइएको छ।