Logo
१४ वैशाख २०८१, शुक्रबार

एकै समारोहमा २६ जोडी बाँधिए विवाह बन्धनमा

अक्षरपाटी
२०७९ मंसीर १४ , बुधबार ०६:११ मा प्रकाशित

जनकपुरधाम। जनकपुरधाममा एकै समारोहमा २६ जोडीको विवाह सुसम्पन्न भएको छ।

जनकपुरधामलाई वैवाहिक गन्तव्यका रुपमा विकास र प्रचारप्रसार गर्न विवाह पञ्चमीको अवसरमा विश्व हिन्दू परिषद् नेपालले प्रत्येक वर्ष आयोजना गर्ने सामूहिक विवाह समारोहमा यस वर्ष पनि २६ युवायुवतीको जोडीको विवाह एउटै समारोह र मण्डपमा भएको छ।

विवाह पञ्चमीमा भगवान श्री सीतारामको विवाह भएकै मण्डपमा उनीहरुको विवाह भएको छ।

विगत चार वर्षदेखि भइरहेको सामूहिक विवाहको उद्देश्य जनकपुरधामलाई विश्वकै उत्कृष्ट वैवाहिक गन्तव्यको रुपमा पर्यटनको विकास गर्नु र दहेज (दाइजो) उन्मूलनको सन्देश प्रवाह गर्नु रहेको आयोजकको भनाइ छ।

जनकपुरधामको हुनेखाने स्थानीयसँग सहयोग संकलन गरी मिथिलाको विवाहमा बेहुलीलाई उपहारस्वरुप दिइने मंगलसुत्र, बिछाओन, लत्ताकपडासहितको व्यवस्थापन आयोजकले गर्दै आएको छ।

यसले गरिब र विपन्नको पनि विवाह धार्मिक, सामाजिक र प्रतिष्ठितरुपमा हुने आयोजकको भनाइ छ।

विवाहका लागि योग्य उमेर पुगेकालाई विवाह गराइने यस कार्यक्रमले सामाजिक भाइचारा विकास हुने बताइएको छ।